काठमाडाैँ। नेपाल धितोपत्र बोर्डले दर्ता नवीकरण नगरेको मर्चेन्ट बैंकरहरूलाई सचेत गराउने भएको छ।
चालू आव ०६६/०६७ को ११ महिना बितिसक्दा पनि ४ वटा बैंकरहरूले नवीकरण गरेका छैनन्। नवीकरणका लागि यसरी शुल्क नबुझाउनेहरूमा एनआईडीसी क्यापिटल मार्केट्स, नागरिक लगानी कोष, नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स र तिनाउ विकास बैंक रहेका छन्। बोर्डले तोकिएको अवधिमा दर्ता नवीकरण नगरेको मर्चेन्ट बैंकहरूलाई पहिलो पटक सचेत गराउन लागेको हो। मर्चेन्ट बैंकरले दर्ता नवीकरणका लागि बोर्डमा १ लाख ५० हजार रुपैयाँ वार्षिक शुल्क बुझाउनपर्ने नियम छ। धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार बोर्डले नवीकरण नगरेका यस्ता बैंकरको अनुमतिपत्र समेत रद्द गर्न सक्छ।
बोर्डका निर्देशक निरज गिरीका अनुसार सचेत गराउँदा पनि नवीकरण गर्न नआए उनीहरूलाई आर्थिक जरिवाना गरिनेछ। ‘त्यसपछि पनि अटेर गरे दर्ता खारेजको प्रक्रियामा जान सकिन्छ,’ उनले भने।



लोकपाटी न्यूज
