प्रधानमन्त्री ओलीले सत्तामा टिक्न जे पनि गर्ने मानसिकता देखाए : डा. प्रकाशशरण महत

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्तामा टिक्न जे पनि गर्ने मानसिकता देखिएको टिप्पणी गरेका छन्।

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रतिक्रिया दिंदै महतले महन्थ ठाकुर समूहले पनि अवसरवादी चरित्र देखाएको बताए। प्रधानमन्त्री ओली सत्ता लब्याउने मानसिकतामा रहेको र कोरोना महामारीलाई पनि अवसरका रुपमा प्रयोग गरेको उनले बताए। १७/१६ जना सांसद भएको जसपालाई १० मन्त्री (८ मन्त्री र दुई राज्यमन्त्री) दिएको भन्दै कांग्रेस सहमहामन्त्री महतले भने, ‘सत्तामा म हुनुपर्छ, त्यसका लागि जे भन्न पनि सकिन्छ, जे गर्न पनि सकिन्छ भन्ने मानसिकता देखिएको छ।’

जसपाको महन्थ ठाकुर पक्षका नेताहरुले पनि अवसरवादी चरित्र देखाउँदै आएको उनले बताए। ‘ओलीजीको सत्ताप्रति जुन आशक्ति छ, त्यसलाई उहाँहरुले प्रयोग गरिरहनु भएको छ,’ डा. महतले भने, ‘निर्वाचनको छेउछाउ पुगेपछि मधेश र मधेशी जनताको कुरा उठ्छ। त्यसपछि हराउँछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्