जसपाका नेता राजकिशोर यादव सरकारमा किन गएनन् ?

Rajkishor Yadhav
लोकपाटी न्यूज

काठमाडौं। शुक्रबार सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष)बाट मन्त्री बन्ने सूचीमा राजकिशोर यादवको नाम पनि चर्चामा थियो। तर, बालुवाटार पठाइएको मन्त्रीको लिस्टमा भने उनको नाम अटाएन।

प्रधानमन्त्री ओलीलाई निरन्तरता दिने कि हटाउने भन्ने विषयमा जसपाभित्र विवाद थियो। पार्टी अध्यक्ष उपेन्द्र यादव ओलीलाई हटाउनु पक्षमा थियो भने ठाकुर पक्ष ओलीको निरन्तरता चाहन्थ्यो। उक्त विवाद मिलाउन पार्टीमा विभिन्न कोणबाट छलफल पनि भए। जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गर्‍यो। ठाकुरले चाहेको भए जसपाकै नेतृत्वमा सरकार बन्न सक्ने बुझाइ थियो।

ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दा पनि उनी तयार नभई प्रधानमन्त्री ओलीकै पछि लागेकाले वातावरण भत्किएको अध्यक्ष यादव पक्षको भनाई छ। जसपामा यो घटनापछि एकले अर्कोलाई कारबाहीको अस्त्र प्रयोग हुन थाल्यो। उपेन्द्र यादव पक्षले ठाकुरसहित पार्टीका चार शीर्ष नेतालाई कारबाही गर्‍यो। सोही क्रममा उपेन्द्रको कारबाहीलाई महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा काउन्टर दिए।

एकले अर्कोलाई कारबाही गरेको बेला ठाकुर पक्ष सरकारमा सहभागी भएको छ। तर, सरकारमा सहभागी हुनेबारे ठाकुर पक्षले पार्टीमा निर्णय गराउन सकेको छैन। यही कारण राजकिशोर यादव सरकारमा जान तयार नभएको बताइएको छ। पार्टीमा निर्णय नभएकोले आफू सरकारमा नगएको प्रतिक्रिया यादवले पनि दिएका छन्।

‘पार्टीबाट निर्णय होस् मैले चाहेको थिएँ,’ उनले भने, ‘मैले खासै रुचि पनि देखाइनँ। पार्टीबाट निर्णय हुनुपर्ने थियो। अरू कुरा पछि गरौंला।’ मन्त्री बन्न नपाएकोमा आफू असन्तुष्ट नरहेको यादवले बताए। ‘एउटा दुईटा प्रक्रिया थियो त्यो पूरा होस् मेरो चाहना थियो, केही समय कुर्नुपर्ने जरुरी थियो,’ उनले भने, ‘तर, त्यस्तो केही छैन, आइ एम भेरी कुल।’

तत्कालीन राजपाका ६ मध्ये एक जना राजकिशोर पनि हुन्। ती मध्ये महेन्द्रराय यादव यसअघि नै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको ‘क्याम्प’ मा गइसकेका छन्। बाँकी पाँचमध्ये अध्यक्ष ठाकुरबाहेक महतो, भण्डारी र झा अहिले मन्त्री बनेका छन्। ती पाँच मध्येका एक राजकिशोर यादवले मन्त्री बन्न रुचि देखाएका छैन।

प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनको आरोप लागेकाले उनी सरकारमा सहभागी नभएको हुनसक्ने जसपा नेताहरूको आंकलन छ। जसपाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक र प्रतिगमन भनेको छ।