यस्ताे रह्याे याे साताकाे सेयर बजार

Stock-market-share
लोकपाटी न्यूज

काठमाडौं। आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक भएपछिको पहिलो साता शेयर बजारमा सकारात्मक प्रभाव परेको छ। बजारका विषयमा उल्लेखित धेरै कार्यक्रम नभएपनि वितरणमुखी बजेटलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएको साताको कारोबारले प्रष्ट पारेको हो।

हुनत यस वर्षको बजेटले व्यक्तिगत लगानीकर्ताहरुलाई दुई प्रकारमा विभाजन गरेको छ। यस वर्षको बजेटले व्यक्तिगत लगानीकर्ताहरुलाई अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा छुट्टाछुट्टै पूँजीगत लाभकरको व्यवस्था गरी वर्गिकरण गरेको हो। यसअघि व्यक्तिगत लगानीकर्ताको हकमा ५ प्रतिशत मात्र पूँजीगत लाभकर तिर्दै आएका लगानीकर्ताहरुले अब एक वर्षभन्दा कम अवधिभित्र कारोबार गरेमा ७ दशमलव ५ प्रतिशत र सो अवधिभन्दा बढीमा कारोबार गरेमा ५ प्रतिशत लाभकर तिर्नुपर्ने भएको हो। अल्पकालिन लगानीकर्ताका लागि २ दशमलव ५ प्रतिशत विन्दु लाभकर यो वर्ष सरकारले बढाएको हो।

लाभकर वृद्धिको विषयलाई पनि लगानीकर्ताहरुले सकारात्मक रुपमै हेरेको पाइयो। पछिल्लो समय निरन्तर गति लिएको बजारबाट फाइदा कमाइरहेका लगानीकर्ताहरुले दीर्घकालिन लगानीलाई जोड दिने खालको लाभकरको व्यवस्थाले बजारलाई सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्। कतिपय लगानीकर्ताले भने व्यक्तिगत लगानीकर्ताको हकमा ५ प्रतिशत लाभकर नै कायम गरी दीर्घकालिन लगानीको लाभकरमा छूटको व्यवस्था गर्न समेत माग गरेका छन्। जेठ १५ गतेको बजेट बक्तव्य पश्चातको पहिलो कारोबार दिन शेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार भएको थियो। यो साता नेप्से परिसूचकले उच्च विन्दु कायम गर्दा कारोबार रकमको उच्चता भने साताको पहिलो दिन रहेको थियो। उक्त दिन  १७ अर्ब २ करोड ८४ लाख ३२ हजार रुपैयाँ बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर कारोबार भएको थियो।

गत साताको भन्दा यो साता कारोबार रकम  १७ अर्ब २ करोड २० लाख ३४ हजार रुपैयाँ बढी भएको छ। गत साता चार कारोबार दिनमा  ५० अर्ब ७७ करोड २५ लाख ७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा यो साता  ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। शेयर कारोबार कित्ता पनि यो साता बढेको छ। गत साता ११ करोड ७५ लाख ८३ हजार ४८१ कित्ता शेयर कारोबार भएकोमा यो साता १५ करोड ६ लाख १२ हजार ७३८ कित्ता शेयर कारोबार भएको छ। गत साताभन्दा यो साता ३ करोड ३० लाख २९ हजार २५७ कित्ता बढी शेयर कारोबार भएको हो।

यो साता पाँच कारोबार दिनमा तीन दिन नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक रकमको कारोबार रकमको हिस्सा ओगटेको थियो। पहिलो कारोबार दिन नेशनल हाइड्रोपावर र दोस्रो दिन राधी विद्युत कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो। यो साताको तीन कारोबार दिन सर्वाधिक कारोबार रकमको हिस्सा ओगटेको नेपाल पुनर्बीमा कम्पनीको पाँच कारोबार दिनमा भने  ३ अर्ब ५९ करोड ४३ लाख ९९ हजार रुपैयाँ बराबरको २१ लाख १३ हजार ३६४ कित्ता शेयर कारोबार भएको छ।

यो साता कम्पनीको मूल्यमा पनि वृद्धि भएको छ। गत साताको अन्तिम कारोबार दिन १ हजार ६२५ रहेको कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन  १ हजार ७६५ कायम भएको छ। गत साताभन्दा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता  १३५ ले वृद्धि भएको हो। यो साता पनि नेपालको शेयरबजारले हालसम्मकै उच्च विन्दु कायम गरेको छ। गत साताको अन्तिम कारोबार दिन २ हजार ८१५ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ८५६ दशमलव ७६ विन्दुमा पुगेको हो। सातामा नेप्से परिसूचक ४१ दशमलव ३७ अंक माथि उक्लिएको हो।

साताको पहिलो दिन १२ दशमलव ५४ अंकले बढेको बजार दोस्रो दिन ४५ दशमलव २५ र तेस्रो दिन ११ दशमलव ६८ अंकले घटेको थियो। दुई दिनको निरन्तर करेक्सन पछि चौंथो दिन ५५ दशमलव ७६ अंक र पाँचौ दिन २९ दशमलव ६४ अंकले नेप्से परिसूचक बढेको हो। यो साता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा ९ दशमलव ४१ प्रतिशत माथी पुगेको छ। गत साता ५०३ दशमलव ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५१३ दशमलव ११ विन्दुमा पुगेको हो। बजारले उच्च विन्दु कायम गर्दा कुल बजार पूँजीकरण  ३९ खर्ब ६४ अर्ब २१ करोड २० लाख १५ हजार रुपैयाँ पुगेको हो। कुल बजार पूँजीकरण गत साताभन्दा यो साता ५७ अर्ब ४४ करोड ४० लाख ११ हजार रुपैयाँले यो साता वृद्धि भएको हो।

गत साता यो रकम ३९ खर्ब ६ अर्ब ७६ करोड ८० लाख ४ हजार रुपैयाँ थियो। यो साता वित्त समूहको परिसूचक सबैभन्दा बढी ११ दशमलव ९८ प्रतिशतलले वृद्धि भएको छ। गत साता १ हजार ७३४ दशमलव ७४ विन्दुमा रहेको वित्त समूहको परिसूचक यो साता १ हजार ९४२ दशमलव ५१ विन्दुमा पुगेको हो। यो साताको वित्त समूहको परिसूचकले बैंकिङ समूहको परिसूचकलाई पनि पछि पारेको छ। बैंकिङ समूहको परिसूचक १ हजार ९०७ दशमलव ४६ विन्दुमा रहेको छ। गत साता १ हजार ८५७ दशमलव शून्य ५ विन्दुमा रहेको बैंकिङ समूह यो साता ३० दशमलव ४७ अंक अर्थात १ दशमलव ६२ प्रतिशत बढेको हो।

१ हजार १०० विन्दुदेखि बढेको बजार हालसम्म आइपुग्दा १ हजार ७५६ विन्दुभन्दा माथी पुगिसकेको छ। यो क्रममा थोरै पूँजी भएका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएपनि वाणिज्य बैंकहरुको शेयरमूल्यमा भने खासै वृद्धि भएको छैन। यसै सातादेखि बैंकिङ समूहको शेयरमूल्य पनि विस्तारै उकालो लाग्न थालेको देखिन्छ। यो साता गत साताभन्दा व्यापारिक समूहको परिसूचक ४ दशमलव ७६ प्रतिशत, जलविद्युतको ४ दशमलव ४७ प्रतिशत, निर्जीवनको शून्य दशमलव ८३ प्रतिशत, जीवनको शून्य दशमलव ६९ प्रतिशत र लगानी समूहको शून्य दशमलव ८२ प्रतिशत परिसूचक घटेको छ। यो साता व्यापारिक र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्