ओली समूहमा लागेपछि शेरबहादुर तामाङलाई फाइदै फाइदा : श्रीमान श्रीमती नै मन्त्री

Sher Bahadur Tamang
लोकपाटी न्यूज

काठमाडाैँ। प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रबार बिस्तार गरेको मन्त्रिपरिषदमा एमाले नेता शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन्।

एमालेको केपी ओली समूहमा लाग्दा शेरबहादुर तामाङको जोडी भाग्यमानी सावित भएको छ। उनकी पत्नी उषाकला राईले गत चैत १३ गते प्रदेश १ को सामाजिक मन्त्रीमा नियुक्त पाएकी थिइन्। तत्कालीन नेकपा फुटपछि माधव नेपाल खेमामा रहेका नेता दम्पती तामाङ र राई पछि ओली समूहमा गएका थिए। केही दिन ओली समूहमा बसेर फेरी नेपाल समूहमा फर्किएका उनीहरु पछि फेरी ओली समूहमै फर्किएका थिए।

गत पुस ९ गते अघि तत्कालीन नेकपाको ओली समूहको बैठकमा सहभागी भएका उनीहरु पुस ९ गते प्रचण्ड नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए। उषाकला राईले प्रधानमन्त्री के पी ओलीले आफूलाई केन्द्रीय सदस्य बनाएकोमा धन्यवाद दिँदै सो पद अस्वीकार गर्दै ओली समूहमा आफू नरहेको बताएकी थिइन्।

तर गत फागुन ८ गते उनीहरु फेरी ओली समूहमै फर्किएका थिए। गुट परिवर्तन गरेसँगै राईले प्रदेश १ को मन्त्री हात पारिन भने तामाङले बैशाख १० गते एमालेको कार्यालय सचिवको जिम्मेवारी पाए। ओली सरकारको पहिलो मन्त्रीमण्डलमा तामाङले ४ महिना कानून मन्त्रालय चलाएका थिए । विवादास्पद अभिव्यक्ति दिएका कारण उनले राजीनामा दिनुपरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्