निर्णायक परामर्शमा जुट्यो नेपाल पक्ष

madhav nepal team
लोकपाटी न्यूज

काठमाडौं। माधवकुमार नेपाल पक्षधर नेकपा एमालेका केन्द्रीय सदस्यहरूको बैठक आज पनि जारी छ। बिहान ११ बजेबाट सुरु बैठकमा बाँकी सदस्यहरूले बोल्ने र नेपालले निष्कर्ष सुनाउने बताइएको छ। बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए।

बाँकी नेताहरूले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ। पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्ने गरी बैठक चलिरहेको छ। बैठकमा दुई खाले विचार आएकाले नेता नेपालले आफ्नो पक्षका बटम लाइन सुनाउने सम्भावना छ। एकथरी नेताहरूले २०७५ जेठ २ मा फर्किँदैमा ओलीसँग सहकार्य हुन नसक्ने र धोखाधडी हुने विचार व्यक्त गरेका छन्।

अर्काथरी नेताहरू भने केपी ओलीलाई जेठ २ मा फर्काउन सके एमालेभित्रै रहेर पार्टी बलियो बनाउन सकिने पक्षमा छ। ओली पक्षसँगको अनौपचारिक तहमा भइरहेको वार्तालाई औपचारिकतामा बदल्न वरिष्ठ नेता नेपाल र खनालसहित ११ सांसद, प्रदेशका नेता र सांसदहरूसहित कार्यकर्तामाथि गरिएको कारबाही एकमुष्ट फिर्ता लिइनुपर्ने उनीहरूको सर्त छ।