काठमाडौं। राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदबाट हटाएको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो।
पार्टीले उनलाई सांसदबाट हटाएको पत्र प्राप्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले बिहीबार प्रदेश सभामा पढेर सुनाए। जनमोर्चाका महासचिव मनोज भट्ट र सांसद पियारी थापाले सांसद थापालाई हटाएको पत्र प्रदेश सभा सचिवालयमा बिहीबारै दर्ता गराएका थिए। जनमोर्चाको बिहीबारको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट हटाउने निर्णय गरेको पियारी र मनोजले दर्ता गरेको पत्रमा उल्लेख छ।
सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गरेका थिए। काँग्रेस नेतृत्वमा सरकार बनाउन सांसद थापाले हस्ताक्षर गरेका थिएनन्। सांसद थापाले काँग्रेस नेतृत्वको सरकारलाई समर्थन नगर्ने भन्दै पार्टीभित्रै विद्रोह गरेका थिए। यही कारण देखाउँदै थापालाई ८ जेठमा पार्टीले कारबाही गरेको थियो।
थापा बागलुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। जनमोर्चाका ३ सांसद रहेकामा अब गण्डकीमा २ सांसद मात्र बाँकी छन्।



लोकपाटी न्यूज

