काठमाडौं। सत्तासीन दल नेकपा एमालेको स्थायी समितिको बैठक स्थगित भएको छ। बिहीबार अपराह्न चार बजेका लागि बोलाइएको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन। यसअघि बुधबार बोलाइएको स्थायी समिति बैठक पार्टीभित्रको विवाद समाधानका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग छलफल सुरु भएपछि बिहीबारका लागि सारिएको थियो।
पार्टी विवाद मिलाउनकै लागि पटकपटक स्थायी समिति बैठक रोकिएको बताइएको छ। स्थायी समितिको आठौँ बैठक गत १८ गते बसेको थियो। बैठकले पार्टी एकता जोगाउन अन्तिमसम्म कसरत गर्ने निर्णय गरेको थियो। १२ जनालाई सोधिएको स्पष्टीकरण कार्यसूचीमा समेत राखेको थिएन।
आज पनि एकता जोगाउनकै लागि बैठक सारिएको बताइएको छ। उता असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्यहरूसँग भर्चुअल छलफल गरिरहेका छन्। एमालेले पार्टीबाट निष्काशित नेता माधव नेपालले केन्द्रीय समितिको बैठक बोलाएकोप्रति पनि आपत्ति जनाएको छ।
बिहीबार बिहान विज्ञप्ति जारी गरी कार्यालय सचिव तामाङले पार्टीले कारबाही गरिसकेका व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका थिए।



लोकपाटी न्यूज

