ओलीका ‘शर्त’ एकताका लागि बाधक

yemale 3 gut
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एकालेमा विवाद समाधानका लागि दोस्रो पुस्ताका नेताहरू सक्रिय छन्। पार्टी शीर्ष नेताहरूले विभाजनको मनस्थिति बनाइसकेको बेला विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रिय छन्। उनीहरू पार्टी एकता कायम राख्न दृढताका साथ लागि परेका छन्। केही दिनयता संस्थापन पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल तथा असन्तुष्ट पक्षका नेताहरू गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई निरन्तर संवादमा छन्।

सोमवार राति याक एण्ड यति होटेलमा भएको वार्तामा दुवै पक्षबीच संवादलाई तीव्रता दिने सहमति भए पनि ठोस प्रस्ताव भने आएको छैन। वार्तामा ओली पक्षले जेठ २ को नजिक रहेर सहमतिको प्रस्ताव गरेका थिए। ‘ओली पक्षले जेठ २ गतेको सेरोफेरोमा बसेर निर्णय गर्ने भन्ने छ तर ठोस विषय भने आएको छैन,’ वार्तामा सहभागी एक नेताले भने, ‘यो बिचमा छलफलको शृंखला टुटेको थियो त्यसलाई तीव्र रूपमा अघि बढाउने सहमति भएको छ।’

एकताको पक्षमा नेताहरूले प्रयत्न जारी राखेपछि अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका १२ जना नेतामाथिको कारबाही केही समयका लागि रोकेका छन्। सहमतिका लागि ओलीले नेपाल पक्षलाई दुई सर्त अघि सारेका छन्। पछिल्लो छलफलमा ओली पक्षका नेताहरूले नेपाल समूहलाई प्रतिनिधिसभा विघटनमा साथ दिन र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिएको निवेदनबाट पछि हट्न ओलीले राखेको सर्त प्रस्तुत गरेका छन्। तर, मुद्दा फिर्ता लिन नेपालले अस्वीकार गरेको नेपाल निकट नेता युवराज ज्ञवालीले बताए।

‘पछिल्लो छलफलमा मुद्दा फिर्ता लिनुपर्ने भन्ने सर्त रहेछ। कुनै पनि हालतमा मुद्दा फिर्ता हुँदैन,’ उनले भने। नेपाल पक्षका दोस्रो तहका केही नेताहरूले भने देउवालाई प्रधानमन्त्री बनाउने र प्रतिनिधिसभा विघटनको मुद्दाबाट पछाडि हट्नुपर्ने मत राखिरहेका छन्। सोमवार राति याक एण्ड यति होटेलमा भएको वार्तामा पनि ओली पक्षका नेताहरू सुवास नेम्बाङ, प्रदीप ज्ञवालीले नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलाई मुद्दा फिर्ता लिनुपर्ने सर्त राखेका थिए। ओली पक्षले नेपाल बाहेकका नेतासँग एकताका लागि पनि ओली तयार रहेको बताएको बालुवाटार निकट स्रोतको दाबी छ।

दोस्रो तहका नेताहरूको छलफल अनौपचारिक मात्रै भएकोले त्यसले निष्कर्ष निकाल्न नसक्ने नेपाल पक्षका नेताहरूको भनाई छ। एकातिर कारबाही गर्ने र अर्कोतिर सहमतिका लागि लचिलो हुने ओलीको दोधारे रणनीतिले एमालेको एकता विभाजन उन्मुख हुँदै गएको छ। नेपाल पक्षका पहिलो पुस्ताका नेताहरू नेपालसहित, झलनाथ खनाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त र दोस्रो पुस्ताकी नेतृ रामकुमारी झाँक्री अब जतिसुकै प्रयास गरे पनि एमाले एक रहन नसक्ने निष्कर्षमा पुगेको बताइन्छ।

नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को विन्दुमा फर्काउनु पर्ने बताउँदै आएको थियो। संसद् पुनर्स्थापना हुने सम्भावना देखेपछि ओली उक्त सर्त मान्न तयार देखिएको बताइएको छ। तर ओलीको शर्तले भने एमाले झन् संकटमा फसेको एमाले नेताहरू बताउँछन्। दोस्रो तहका नेताहरू भने राजनीतिक जीवनको भविष्यलाई लिएर विभाजनमा जान नहुने अडान दोहोर्‍याइरहेका छन्। यही कारण विभाजनको अवस्थामा उनीहरूले नेता नेपाललाई साथ नदिने बुझाई ओली पक्षको छ।

यद्यपि नेपालनिकट एक पहिलो पुस्ताका नेताले दोस्रो पटक संसद् विघटनपछि पार्टी विभाजन भएरै छाड्ने निष्कर्षमा आफूहरू पुगेको बताए। ‘जेठ २ मा फर्किएर पार्टीलाई एक ढिक्का राख्ने प्रस्ताव अब असान्दर्भिक बनिसक्यो,’ ती नेताले भने, ‘संसद् विघटन भन्दाअघिको अवस्थाका लागि हामीले त्यो माग राखेका थियौं। संसद् विघटनपछि परिस्थितिमा धेरै परिवर्तन भइसक्यो। अब जेठ २ मा फर्किएर मात्रै समस्या समाधान हुँदैन।’

जेठ पहिलो साता दुवै पक्षले गठन गरेको कार्यदलले पार्टीलाई एकताअघिको स्थितिमा फर्काएर सहमति खोज्ने प्रयास गरेको थियो। तर, राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षले विद्रोही उम्मेदवारलाई मतदान गरेको र ओलीले संसद् विघटन गरेपछि वार्ता भाँडिएको थियो। ओलीले नेपाल र झलनाथ खनालसहितका ११ नेताहरूलाई पार्टीबाट निष्काशन समेत गरिसकेका छन्।

नेपाल समूहले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई हराएको, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको लुम्बिनीको राष्ट्रियसभाको उपनिर्वाचनमा पनि अन्तर्घात गरेकोजस्ता कारणले अब पार्टी एक नहुने निष्कर्षमा ओली पक्ष पनि पुगिसकेको थियो। नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सबै नेताहरू एकै स्थानमा रहने सम्भावना कम रहेको बताए। मंगलबार भएको स्थायी समितिको बैठकपछि ज्ञवालीले सो कुरा बताएका थिए।

‘पछिल्लो समयमा भइरहेका छलफलको विषयमा पनि समीक्षा गर्‍यौं। अन्तिम समयसम्म पार्टी एकताको प्रयास गर्ने निर्णय गरेका छौं। अहिले भइरहेको छलफललाई जारी राख्छौं,’ ज्ञवालीले भने, ‘बढीभन्दा बढी साथीहरूलाई पार्टी एकताका लागि अडिनु होस् भन्ने प्रयास छ। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयलाई गर्वका साथ महिमामण्डन गरिरहनु भएको छ। उहाँ साथीहरू फर्किनु भयो भने पार्टीका लागि राम्रै हुन्छ। तर उहाँहरूको गतिविधि र हामीले एकताका लागि गरिरहेको प्रयासमा कहीँ कतै तालमेल मिल्दैन।’