काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निर्यात तथा निकासी खुला गर्ने सरकारको निर्णय राष्ट्रघाती भएको बताएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले बुधवार विज्ञप्ति जारी गरेर बजेट वक्तव्यमार्फत गरेको उक्त घोषणाको विरोध जनाएका हुन्।
उनले अध्यादेशमार्फत ल्याइएको बजेटमा निजी क्षेत्रको संलग्नतामा चुरे क्षेत्रमा बसोबास गराउने, बन क्षेत्रमा होटेल, मोटल, रिसोर्ट खोल्ने भनिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सरकारले ल्याएका यस्ता कार्यक्रम वातावरणीय हिसाबले घातक मात्र नभएर राष्ट्रघाती भएको उनले बताएका छन्।
‘यसले नवधनाढ्य देखि व्यवसायीलाई त फाइदा नै होला तर, यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई/ मधेशमा ठूलो प्राकृतिक संकट आउने छ,’ विज्ञप्तिमा भनिएको छ। यस सरकारको यस निर्णयले कारण तराई/ मधेशका जनताले ठूलो मूल्य चुनाउनु पर्ने उनले बताएका छन्।
यसो गरिएमा चुरे क्षेत्र विनाश गर्ने, तराई/मधेशलाई मरुभूमिकरण गर्ने निश्चित भएको उनको भनाई छ। यादवले ढुंगा, गिटी, बालुवा निर्यात तथा निकासीका काम बन्द गर्न भनेका छन्। उनले त्यस क्षेत्रका नागरिक आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन्।




लोकपाटी न्यूज

