काठमाडौं। नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले अवैधानिकरुपमा ल्याएको बजेटमार्फत आफ्नो असली चरित्र उजागर गरेको बताएका छन्। व्यापार घाटा न्यूनीकरण गर्ने नाममा नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम घुसाएर सरकार नीतिगत भ्रष्टाचार गर्न लागिपरेको थापाले बताएका छन्।
उनले चुरे तहसनहस पार्ने प्रावधान राखेर ल्याइएको कार्यक्रमलाई रोकेरै छाड्ने प्रतिबद्धता जनाए। साथै, सरकारको उक्त निर्णयको प्रतिरोध गर्न सबैमा आग्रह पनि गरे। थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसद् नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ।’
उनले अगाडि लेखेका छन्, ‘वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ। यो नीतिगत भ्रष्टाचार हो।आफ्ना यारलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनःछर्लंग भएको छ। चुरे क्षेत्र तहस नहस पारेर तराईंलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो। यस पटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौं। अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खबरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौं नै। आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गर्दछु।’



लोकपाटी न्यूज

