ठाकुरसहित ४ नेतालाई निष्काशन गरेकोबारे निर्वाचन आयोगलाई जानकारी

Mahanth_Thakur_Rajendra_Mahato
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहितका चार नेतालाई पार्टीबाट निष्काशित गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ। जसपा कार्यकारिणी समितिको बैठकले उपेन्द्र यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेका थिए।

पार्टी विधान विपरीत काम गरेकोले भन्दै उनीहरूलाई पार्टीबाट निष्काशन गरेको जसपाले जनाएको छ। ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ (१, २ र ३) बमोजिम हाम्रो दलको दर्ता किताबबाट नाम हटाइ अद्यावधिक गर्न अनुरोध गरिन्छ,’ अध्यक्ष यादवले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ।

निर्वाचन आयोगमा उक्त पत्र दर्ता भइसकेको छ। दर्ता नम्बर १३४१ रहेको छ। जसपामा केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद चर्किँदो छ। ठाकुर-महतो पक्षले ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। उता भट्टराई-यादव समूहले भने ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउनुपर्ने बताउँदै हस्ताक्षरसमेत गरिसकेको छ।