काठमाण्डाैँ। बजारमा दिनहुँजसो अनुगमन भइरहेकाे भनिए पनि जथाभाबी भइरहेकाे मूल्यवृद्धि नियन्त्रण हुन सकेको छैन। बजारमा उत्पादकबाट उपभोक्तासम्म पुग्दा उपभोग्य सामग्रीको मूल्यमा ठूलो अन्तर रहेको पाइएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने सामानको मूल्य, परिणाम र गुणस्तरबारे गरेको अनुगमनमा किसान, उत्पादक र उपभोक्ताबीचको मूल्यमा ठूलो अन्तर पाइएको हो। धादिङको धुनीबेंसी र नौबिसेदेखि चितवनको मुग्लिङ बजारसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो।
विभागका अनुसार निजी तथा सहकारी तरकारी सङ्कलक केन्द्रमार्फत हुने हरियो तरकारीको कारोबार, खाना पकाउने एलपी ग्यासका उद्योग र चितवनका कुखुराको दाना उत्पादक उद्योग, ह्याचरी उद्योग र कुखुरा फर्ममा अनुगमन गर्दा एकै किसिमको उत्पादनको मूल्यमा सङ्कलन केन्द्रपिच्छे खरिद बिक्री मूल्य फरक-फरक पाइएको छ।
किसान वा उनीहरुका प्रतिनिधिको काठमाण्डौसम्म पहुँच नहुँदा किसानले सस्तोमा बेच्नु परेको छ भने उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने बाध्यता छ। आफूखुसी मूल्य राख्नेलाई भोलिसम्म सबै कारोबारको विवरण बुझाउन निर्देशन दिइएको विभागले जनाएको छ।



लोकपाटी न्यूज
