काठमाडौं। नेकपा एमालेबाट कारबाहीमा परेका नेता भीम रावलले मन्त्रिमण्डल विस्तारको चर्चाप्रति कटाक्ष गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान लागेको समाचारप्रति रावलले कटाक्ष गरेका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लम्पसार’ नै हुनु छ भने जसपालाई २० मन्त्री दिएर बाँकी पाँच मन्त्री आफूसँग राख्न भनेका छन्। त्यसो गरे ‘खुसी पार्नुपर्ने शक्ति पनि मक्ख पर्ने’ रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्।
‘जसपा (महन्थ पक्ष)लाई आठ मन्त्री र दुई राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो। प्रम केपीले लम्पसार नै हुनु छ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पुरै समर्पण गरी धूपबत्ती गरे कसो होला ! यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने !,’ उनले लेखेका छन्।
सोमबार मात्रै सरकारमा जाने विषयमा प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ राजेन्द्र महतोलगायतका नेताको भेटवार्ता भएको थियो। भेटमा ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने कुरा भएको बनाइएको छ।
मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्राविधिक काम पूरा भएपछि सरकारमा सहभागिताबारे निर्णय लिइने जसपाका नेताहरूले बताएका छन्। बैठकमा दुवै तर्फबाट कार्यदलका सदस्यको पनि सहभागिता थियो। कार्यदलमा सुवास नेम्वाङ, राजन भट्टराई सर्वेन्द्रनाथ शुक्ललगायत रहेका छन्।




लोकपाटी न्यूज

