तानाशाहहरुको पतन न्यायालयबाटै हुन्छ : डा. कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले न्यायालय र वकिलहरूप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी गणतन्त्रको अवमूल्यन रहेको बताएका छन्। न्यायालय र वकिलहरूले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका प्रधानमन्त्री ओलीले बिर्सिएको उनले बताएका हुन्।

अदालत र वकिलप्रतिको टिप्पणीले ओलीको अधिनायकवाद व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना रहेको कोइरालाले आरोप लगाएका छन्। ‘उनीहरूले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका बिर्सेको मात्र नभई हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सजग बनौं, सबै क्षेत्रबाट सशक्त प्रतिकार गरौं।’

प्रधानमन्त्री ओलीले सोमबार एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीशरू न्यायालयको काम कारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गरिरहेको टिप्पणी गरेका थिए। साथै उनले वकिलप्रति लक्षित गर्दै कालिकोटधारी केही व्यक्तिले कुन अवस्थामा पुर्‍याउँदैछन् भनेर आक्रोश जनाएका थिए।

न्यायालयबाटै शाही आयोग खारेज भएपछि गणतन्त्र आएको उल्लेख गर्दै नेता कोइरालाले पाकिस्तानी उदाहरणसमेत स्मरण गराएका छन्। ‘तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो,’ कोइरालाले भनेका छन्, ‘पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउन चाहन्छु।’