एमाले स्थायी समिति बैठक आज, को-को नेतामाथि हुँदैछ कारबाही ?

uml
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठक मंगलबार बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने तयारी छ। आइतबार बेलुका बस्ने भनिएको बैठक सोमबारका बिहानका लागि सारिएको थियो।

सोमबार पनि स्थगित भएको बैठक मङ्गलवार बिहान ११ बजेपछि बस्ने तय भएको छ। बैठकमा पार्टीको आन्तरिक गतिविधि, राष्ट्रिय राजनीतिकसहितका विषयमा छलफल हुने परराष्ट्र मन्त्री समेत रहेका नेता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्ने थप १२ जना नेतालाई कारबाही, बजेटसहितका विषयमा पनि छलफल हुने जनाइएको छ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसअघि नै माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरादेवी जैरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेका छन्।

यस्तै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण माग गरी पत्र पठाइएको छ। तर उनीहरूले अहिलेसम्म जवाफ दिएका छैनन्।

सुदूरपश्चिमबाट १० जनामाथि कारबाहीको सिफारिस

यस्तै, पार्टी निर्णय उल्लंघन गरी माओवादीको सरकारलाई समर्थन गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश समितिले माधव नेपाल पक्षका १० जना सांसदमाथि कारबाहीको सिफारिस अगाडि बढाएको छ। सोमबार मात्र ६ मन्त्रीसहित ७ जनालाई कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको छ।

माओवादी नेतृत्वको सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ।

त्यस्तै सचेतक दुर्गा विकलाई पनि कारबाहीको सिफारिस गरिएको छ । यसअघि एमाले संसदीय दलका नेता प्रकाश शाह, निवर्तमान मन्त्री कृष्ण सुवेदी र माया भट्टलाई पार्टी सदस्य नै नरहने गरी निष्कासनका लागि केन्द्रमा सिफारिस गरिएको छ। उनीहरूमाथि पनि कारबाही गर्ने नगर्नेबारे आज बस्ने बैठकले निर्णय लिने छ।