काठमाडौं। प्रतिनिधि सभा विघटनका विरुद्ध परेको रिटमाथि जारी सुनुवाइको क्रममा कतिपय न्यायाधीशको निष्पक्षतामा प्रश्न उठाउने वकिलहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकको आरोप लगाएका छन्। युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले काला कोटधारी भन्दै चर्को आलोचना गरेका हुन्।
‘अदालतमै केही कालो कोट लगाएका व्यक्तिहरु, अराजक व्यक्तिहरु, अदालतको मान सम्मान गरिमा, न्यायमूर्तिहरु मान सम्मान गरिमा, त्यसको पनि किञ्चित ख्याल नराखेर, कस्तो न्यायिक सिस्टम, वकिलहरुले न्यायाधीश तय गर्ने अब? वकिलहरुले न्यायाधीश तय गर्ने हो भने, वकिलहरुले लेखेर ल्याएको, उनीहरुले पढेर लेखेर सुनाऊ भनेको निर्णय सुनाउने न्यायाधीश चाहियो? उहाँहरुले लेखिदिनुपर्ने अब फैसला पनि? उहाँहरु त्यही चाहिरहनुभएको छ’, प्रधानमन्त्री ओलीले भने।
वकिलहरुले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश बाहेकलाई हामी मान्दैनौँ, हुन दिँदैनौं भनिरहेको प्रधानमन्त्रीले आरोप लगाए। ‘यस प्रकारका कुराले न्यायालय कुन अवस्थमा पुग्दैछ? कालो कोटधारी केही व्यक्तिहरुले न्यायालयलाई कुन अवस्थामा पुर्याउँदै हुनुहुन्छ? कुन हैसियतमा पुर्याउँदै हुनुहुन्छ? बडो गम्भीर विषय’, उनले भने। त्यस्तै, वक्तव्य जारी गरेका पूर्वप्रधानन्यायाधीहरुमाथि पनि उनी खनिए। उनले पेन्सन खाएर न्यायालयको हुर्मत लिएको भन्दै उनीहरुलाई ‘आउटडेटेड इलिमेन्ट’को रुपमा चित्रित गरे।
‘पूर्वन्यायमूर्ति, उहाँहरुले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छ? पेन्सन खाएर। आफ्नो समयमा केही नगर्ने, अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षपकारी ताण्डव गर्ने सडकमा? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्याउँछ? तर म भन्न चाहन्छु। यस प्रकारका आउटडेटेड इलिमेन्टहरुबाट, यस्ता इलिमेन्टहरुबाट देशलाई दुष्प्रभावित हुन दिइने छैन। जोगाइने छ’, उनले भने।



लोकपाटी न्यूज

