लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : ४ मन्त्रीको मतदान रोक्न निर्वाचन आयोगमा निवेदन

rastriya sava
लोकपाटी न्यूज

बुटवल। लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनका लागि आइतबार मतदाता सूची सच्याएर अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई मतदानको अधिकार दिएपछि निर्वाचन आयोगमा निवेदन परेको छ। विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेले आयोगमा निवेदन दिएका हुन्।

निर्वाचन आयोगले अन्तिम समयमा ४ जनालाई मताधिकार दिने निर्णयले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको भन्दै त्यसलाई कार्यान्वयन नगर्न माग गर्दै निवेदन दिएको माओवादीका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए।

पार्टीले कारवाही गरेपछि जनता समाजवादी पार्टीका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए।

पदमुक्त भएपछि उनीहरु सर्वोच्च अदालत गएका थिए। अदालतले अन्तरिमकालीन आदेश दिँदै पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो। सोही आधारमा अन्तिम नामावली प्रकाशित हुँदा चार मन्त्रीहरुको नाम थिएन।

तर आइतबार साँझ आयोगले उनीहरुको पनि नाम समावेश गरेको सूचना जारी गरेपछि विपक्षी गठबन्धनले विरोध गरेको छ। यता दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान जारी छ। एमालेबाट चन्द्रबहादुर खड्का र काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय सम्मिलित गठबन्धनबाट काँग्रेसका पाण्डेले उम्मेदवारी दिएका छन्।