लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान जारी

lumbini-_rastriya_chunab_ pic
लोकपाटी न्यूज

घोराही। लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि सोमबार उपनिर्वाचन जारी छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेका छन्। सोमबार बिहान ९ बजेदेखि मतदान सुरू भएको हो। मतदान गर्ने समय आज अपरान्ह ३ बजेसम्म छ। रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचनमा मतदान भइरहेको छ।

घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा मतदान भइरहेको छ। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउनका लागि प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ८ जनाका दरले कर्मचारी खटाइएको छ।

उनका अनुसार तीनवटा मतदान केन्द्रहरु मध्ये मतदान केन्द्र ‘क’ मा प्रदेश सभा सदस्यहरु, मतदान केन्द्र ‘ख’मा पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र मतदान केन्द्र ‘ग’मा कोरोना संक्रमण पोजिटिभ देखिएका मतदाताहरूका लागि छुट्याइएको छ। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार छन्। पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन्।

उपनिर्वाचनमा प्रदेशसभा ८३ सदस्य र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाताले मतदान गर्न पाउने छन्। मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ। कोरोना महामारीको समयमा भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले बताए।