सरकारले ‘एनटिभी वर्ड’ सञ्चालनमा ल्याउने

लोकपाटी न्यूज

काठमाण्डाैँ।  ‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तर्राष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन सरकारले अङ्ग्रेजी च्यानल ‘एनटीभी वर्ल्ड’ सञ्चालन गर्ने भएको छ। शनिवार प्रस्तुत बजेटमा महत्त्वका साथ नेपाल टेलिभिजनबाट यस च्यानल सुरु गरिने घोषणा भएको हो।

नेपाली टेलिभिजन प्रसारणका इतिहासमा यस च्यानलले अन्तर्राष्ट्रिय समुदायमा नेपाल बुझ्ने गरी सामग्री प्रस्तुत गर्ने कुरा पहिलो कदमका रूपमा लिइएको छ। च्यानलले नेपाल टेलिभिजनको प्रसारणलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने छ। च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ। ‘नेपाल टेलिभिजनको प्रसारणलाई अन्तरर्राष्ट्रियस्तरमा पुर्‍याउन एनटीभी वर्ल्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ। अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सिधै पहुँच नभएकाले छिट्टै सञ्चालन हुने ‘एनटीभी वर्ल्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ। आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेला–बेला उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ।

‘समृद्ध नेपाल : सुखी नेपालीको सन्देश अन्तर्राष्ट्रिय समुदायमा अहिलेसम्म पुग्ने माध्यम छैन, नेपाली टेलिभिजनको इतिहासमा एनटीभी वर्ल्ड च्यानलमार्फत पहिलो पटक अन्तर्राष्ट्रिय समुदायसँग पहुँच पुग्नेछ’, सरकारका प्रवक्ता पार्वत गुरुङले बताए। सञ्चारको संसार भन्ने मान्यतासहित सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने नीतिअनुसार सरकार अघि बढेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्