मेरै पार्टीका नेताबाट निकै ठूलो अनिष्टको काम भइरहेको छ : ओली

KP sharma Oli
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रका नेताबाट देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन्। तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भईरहेको बताए।

उनले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरे। उनले उनीहरुले मुलुकविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गरे।

‘तीनले खाएको सपथ झुटो हो, तीनको सपथ बेइमानी हो। तीनका शपथभित्र स्वार्थ पुरा गर्ने कपट लुकेको हुन्छ। अहिले तीनले खाएका सपथ सम्झनुहोस् त। तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन्,’ उनले भने, ‘सम्मानीय राष्ट्रपति ज्यूकोमा गएर एक जनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ। शरम छैन। जब नेतृत्वतह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ। यो चिन्ताको विषय छ।’

राजनीतिक दल र तीनका नेताहरु अनशासनहिन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नएको घटना नेपालमा भएको ओलीको टिप्पणी छ। उनले उच्च मर्यादामा रहेका व्यक्तिलाई पढेका र सभ्य भन्नेहरूले नै अश्लिल गाली गर्ने गरेको पनि बताए।

उच्च मर्यादामा रहेका व्यक्तिलाई अपमान र मनपरी ढंगले गाली गर्नुलाई आफ्नो बहादुरी ठान्ने गरेको भन्दै उनले यस्तो प्रवृत्ति हानिकारक हुने बताए। ओलीले भने, ‘उच्च मर्यादामा रहेका व्यक्तिको अपमान र मनपरी अश्लिल भाषामा गाली गर्नु आफ्नो बहादुरी ठान्ने प्रवृत्ति समाजका लागि अत्यन्तै हानिकारक छ।’

यस्तो गाली भात खानेले नभई पिज्जा खानेहरूले गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘पढे लेखेको भन्ने, सभ्य छु भन्ने, भात होइन पिज्जा खाने खालका त्यस्ताबाट यस्ता काम भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने। उनले सरकारले बलात्कार र एसिड आक्रमणका विरूद्ध कडा कानुन निर्माण गरेर महिला हिंसाविरुद्ध कार्य गरिरहेको पनि बताए। वर्तमान सरकार महिलामाथि हुने हरेक हिंसाविरूद्ध दृढता कार्य गरिरहेको र महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने उनले बताए।

‘हाम्रा आमा दिदी बहिनीहरूलाई बोक्सीको आरोप लगाउने जस्तो भ्रम र अन्धविश्वास छ, जानीजानी, स्वार्थ, अहंकार र पछौटेपन जे भए पनि त्यो अस्वीकार्य मात्र होइन क्षम्यसमेत हुन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने।