काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी समिति बैठक बोलाएका छन्। आइतबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा विशेष गरी शनिवार अध्यादेशमार्फत ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने उनको भनाइ छ। आजको बैठकले स्पष्टीकरण सोधेका माधवकुमार नेपाल पक्षका थप १२ जना सांसदहरूलाई कारबाही गर्ने अनुमान गरिएको छ।
ओलीले यही जेठ १२ गते यी सांसदहरूलाई स्पष्टीकरण पत्र पठाएका थिए। स्थायी समिति बैठकले १२ जनामध्ये कतिपयलाई कारबाही गर्नसक्ने कार्यालय सचिव तामाङले बताए। स्पष्टीकरण सोधिएका मध्ये कतिपय सांसदले लिखित रूपमा नपठाए पनि मौखिक रूपमा नेतृत्वसँग छलफल गरेको उनले बताए।
यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ। स्पष्टीकरण सोधिएकाहरूमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।



लोकपाटी न्यूज

