एमाले नेता घनश्याम भुसालले फेसबुकबाटै प्रधानमन्त्री समेत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन्। एमाले स्थायी कमिटी बैठकले उनीसहित १२ नेतालाई स्पष्टीकरण सोधेपछि उनले फेसबुकबाटै स्पष्टीकरण दिएका हुन्।
स्पष्टीकरणमा उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले संसदीय मर्यादा उलंघन गरेको स्वीकार गरेका छन्। तर संविधान र राजनीतिका लागि आफूले उल्लङ्घनको विकल्प रोज्नु परेको उनको भनाइ छ। ‘अहिले नेकपा एमालेका केहि सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ। एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु’, उनको स्पष्टीकरणमा भनिएको छ, ‘तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्घनको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ। मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ।’
यस्ताे छ भुसालकाे स्पष्टिकरण:-
म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिन। दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु। एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ। त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो। तर पोहोर सालको बैसाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु। उनले भनेका थिए ः नेकपाको विवाद समाधान हुँदैन। अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ। संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ। संविधानले काम गर्दैन। त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ। नयाँ खिलराजहरुको अभ्यास हुनेछ। त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ।
घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन्। अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ। एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु। तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ। मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ।
गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना।



लोकपाटी न्यूज

