काठमाडौं। एक जना नेपालीको भागमा ५२ हजार रुपैयाँ ऋण पुगेको छ। पछिल्ला वर्षहरुमा सरकारले स्वदेशी र विदेशी ऋण उच्च दरले बढाएपछि प्रतिव्यक्ति सार्वजनिक ऋणको हिस्सा प्रतिव्यक्ति ५२ हजार ३६९ रुपैयाँ पुगेको हो।
अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको मुलुकको आर्थिक सर्वेक्षण २०७८ को तथ्यांक अनुसार नेपालको तिर्न बाँकी खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३७.३ प्रतिशत हो। केन्द्रिय तथ्यांक विभागको अनुमान अनुसार शुक्रबारसम्म नेपालको जनसंख्या ३ करोड ३ लाख ५१ हजार छ। यस हिसाबले हरेरक नेपालीले राष्ट्रिय ऋणलाई बराबर भाग लगाउने हो भने एक जनाको थाप्लोमा ५२ हजार ३६९ रुपैयाँ पर्छ।
सरकारले लिने सार्वजनिक ऋणलाई मूलतः अर्थतन्त्रको आकारसँग दाँजेर हेर्ने गरिन्छ। यसबाट सरकारले कति ऋण लिएको छ र त्यो ऋणको उपयोगिता कत्तिको प्रभावकारी छ भन्ने जाँच्न सघाउ पुग्छ। धेरै ऋण लिएर देशको विकास निर्माणमा चाहीँ कम खर्च भयो भने सरकारको प्रभावकारीता र कार्यकुशलता कमजोर भएको बुझ्न सकिन्छ।
सरकारी ऋण अत्यधिक धेरै भएमा मुलुकले ऋण तिर्नसक्ने क्षमता गुमाउँदै जाने र अन्ततः राष्ट्र टाट पल्टिने जोखिम हुन्छ । पछिल्ला वर्षमा ग्रीस, भेनेजुयलाजस्ता मुलुकले यस्तो जोखिम भोगिरहेका छन्। तर, प्रतिव्यक्ति ऋणको हिसाब गरेजस्तो जनताले सरकारको ऋण तिरिदिन चाहीँ मिल्दैन। अर्थात्, एक जनाको थाप्लोमा पर्ने ५२ हजार रुपैयाँ कोही नेपालीले अर्थात्, एक जनाको थाप्लोमा पर्ने ५२ हजार रुपैयाँ कोही नेपालीले ‘म तिरिहाल्छु’ भन्न मिल्दैन। यो केवल हिसाबमा देखाउने कुरामात्र हो।



लोकपाटी न्यूज

