सत्ताको अराजकता सबैतिर फैलन थाल्यो : शर्मा

Janardan-Sharma
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अस्पतालमा डाक्टर र नर्समाथि आक्रमण गर्नु जघन्य अपराध भएको बताएका छन्। डाक्टर र नर्समाथि वाडमै आक्रमण गर्नु जघन्य अपराध भएको भन्दै शर्माले उनीहरूको सुरक्षाको माग गरेका छन्। उनले आफू स्वास्थ्यकर्मीको साथमा रहेको बताएका छन्।

अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन् गम्भीर विषय बनेको उनले उल्लेख गरेका छन्। दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार गर्न माग गरेका छन्। भेरी अस्पतालमा कोरोना संक्रमितको निधनपछि आक्रोशित आफन्त स्वास्थ्यकर्मीमाथि नै आक्रमणमा उत्रिएपछि उनले सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन्।

‘महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरू माथि वाडमै आक्रमण गर्नु जघन्य अपराध हो,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन् गम्भीर विषय बनेको छ। दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस्। सत्ताको अराजकता सबैतिर फैलिन थाल्यो यो गम्भीर विषय हो।’

कोभिड-१९ संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए। मृतकका आफन्तबाट भएको आक्रमणमा परि चार जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा राति ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरूले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेका थिए। मृतकको कुरुवा समेत रहेका मानबहादुर रावतसहितको समूहले नर्सिङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आइसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए।

घटना लगत्तै प्रहरीले मानबहादुरसहित ३ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी गरिरहेको जनाएको छ। स्वास्थ्यकर्मीमाथि आक्रमणको चौतर्फी निन्दा भइरहेको छ।