काठमाडौं। वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पाँच महिनामा दुईपटक प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधान र राष्ट्रमाथि अपराध गरेको बताएका छन्। बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको संविधानविद् र कानुनी विज्ञहरूसँग अन्तरक्रियामा श्रेष्ठले प्रधानमन्त्रीले पुनः प्रतिनिधिसभा विघटन गर्दा अदालतको अवहेलना समेत गरेको बताए।
‘पाँच महिनामा प्रतिनिधिसभा दोस्रोपटक विघटन गरेर प्रधानमन्त्रीले अपराध गर्नुभएको छ,’ उनले भने, ‘त्यसमा राष्ट्रपतिले आफ्नो दायित्व भुलेर मतियारको भूमिका खेल्नुभएको छ। प्रतिनिधिसभा पुनःस्थापनापछि राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्छ।’ श्रेष्ठले पहिलोपटक असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटनपछि पुनःस्थापित प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग नल्याउनु गल्ती भएको बताए।
‘पहिलोपटक राष्ट्रपतिलाई महाभियोग लगाएको भए दोस्रो पटक प्रतिनिधिसभा विघटन हुने थिएन। महाभियोग त पास हुने थिएन, दुई तिहाई त छैन। अमेरिकामा ट्रम्पलाई महाभियोग किन लगाइयो ? पास हुन्न भन्ने थाह थियो। अझ ट्रम्पको कार्यकाल सकिएपछि पनि भोटिङ भयो। जरुरी के थियो ?,’ श्रेष्ठले भने, ‘नेपालको राजनीतिक, संवैधानिक, न्यायिक इतिहासमा यस्तो कलंकित राष्ट्रपति पनि आउनुभयो जसले दुई-दुई चोटी प्रतिनिधिसभालाई मार्नुभयो भनेर रेकर्ड गर्नका लागि महाभियोग लगाउनुपर्थ्यो।’
भविष्यमा आउने राष्ट्रपतिले यस्ता असंवैधानिक क्रियाकलाप नदोहोर्याउन् भनेर पनि राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउनुपर्ने श्रेष्ठको भनाइ थियो। ‘भोलिको पुस्ताले अध्ययन गर्थ्यो, यस्तो स्थिति भएको थियो है नेपालमा भनेर। त्यस्तो खराब चिज नआओस् भनेर,’ उनले भने, ‘सभामुखले महाभियोगको प्रस्तावमा छलफल गरेर टेबुल गर्नुपर्छ। यही राष्ट्रपति कायम भयो भने पनि भविष्यमा त्यस्तो दुस्साहस नगर्ला भन्ने हो।’
भट्टराईले तत्कालै प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सभामुखले सिफारिस गर्न सक्ने बताए। उनले भने, ‘सभामुखले राष्ट्रपतिलाई प्रतिनिधि सभाको बैठक आह्वानका लागि सिफारिस गर्नुपर्छ। मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्ने छैन। सभामुखले यो काम गर्न सक्नुहुन्छ।’
प्रतिनिधिसभा दोस्रोपटक विघटनलाई ‘प्रतिगमन-२’ को संज्ञा दिँदै श्रेष्ठले नागरिकता अध्यादेशको जिकिर गरेका छन्। उनले भने, ‘प्रतिगमन- २ आएपछि मुलुक फिजिकरण हुँदैछ। अध्यादशेमा केही पनि होइन। दिनहुँ अमूक राजदूतावासमा गएर छलफल गर्ने काम भएको छ। मुलुकको फिजिकरणतिर गएको छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक संवैधानिक निकायलाई कब्जा गर्दै गएको उनले बताए। अब न्यायालय र सभामुखको पदमात्रै ओलीले आफ्नो कब्जामा पार्न बाँकी रहेको उनको भनाइ थियो। ‘अब न्यायालय र सभामुख पद क्याप्चर गर्न बाँकी छ। न्यायालय र सभामुखले ठीक रोल नखेल्ने हो भने अझै समस्या आउने अवस्था छ,’ उनको भनाइ थियो। संविधानअनुसार प्राप्त सबै काम गर्न श्रेष्ठले सभामुख सापकोटालाई सुझाव दिए।



लोकपाटी न्यूज

