धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका तीन मन्त्रिलाई फिर्ता हुन लिखित निर्देशन दिएको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले आन्तरिक मामलिा तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र समाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन बेग्ला बेग्लै लिखित पत्र पठाएर निर्देशन दिएका छन्।
‘नेकपा(एमाले)को स्थाई कमिटीको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने र पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता हुन निर्देशन दिने निर्णय भएको जानकारी प्राप्त भएकोले सोही बमोजिम मन्त्रीबाट फिर्ता हुन र नेकपा एमालेको नेतृत्वमा अगामी सरकार गठनका लागि मार्ग प्रशस्त गरि आवश्यक पहलकदमी लिन यो निर्देशन जारी गरिएको छ,’ पत्रमा लेखिएको छ। यसैगरि थापा र रावलले सोही व्यहोराका पत्र लेखेर नेकपा (एमाले) स्थाई कमिटीको सातौ बैठकको निर्णय निर्देशन पालना गर्न संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङलाई पनि निर्देशन दिएका छन्।
जेठ १० गते नेकपा एमालेको स्थाई कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी पार्टीका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको थियो। तर नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदिय दलको बुधबार बसेको बैठकले अधिकारीक जानकारी नआएको भन्दै माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको थियो। एमाले स्थाई कमिटीको निर्णय बिपरित संसदीय दलको बैठकले निर्णय गरेपछि नेकपा एमाले सुदूरपश्चिम समितिका अध्यक्ष थापा र सचिव रावलले लिखित पत्र मार्फत निर्देशन दिएको बताइएको छ।
प्रदेश सरकारमा मुख्यमन्त्री र एक मन्त्री गरि दुई माओवादी केन्द्र र ३ मन्त्री एमालेका छन्। नेकपामा ओली र माधव पक्ष र प्रचण्डबीच राजनीतिक रुपमा बिभाजन भएपछि मुख्यमन्त्री भट्टले ओली पक्षका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई गत पुस १४ गते हटाएका थिए। ओली पक्षमा लागेका तत्कालिन नेकपा माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पुस २२ गते मन्त्रीपदबाट राजीनामा दिएका थिए। दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त अहिलेसम्म गरिएको छैन।
सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट २५ प्रदेशसभा सदस्य छन्। ५२ सदस्य रहेको प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट १३ सासंद रहेका छन्। ओली पक्षमा लागेकाले माओवादी केन्द्रबाट निर्वाचित झपट बोहरा सासंद छैनन्। नेपाली काग्रेसबाट १२ र जसपाका २ जना प्रदेशसभा सदस्य छन्।



लोकपाटी न्यूज

