काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले सरकार गठनका लागि सांसदहरूलाई आत्मनिर्णयको अधिकार दिएको बताएका छन्। नेपाल प्रेस युनियनको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै पौडेलले संविधानको धारा ७६ को उपधारा ५ ले प्रतिनिधिसभाका सदस्यहरूलाई आत्मनिर्णयको अधिकार दिएको बताएका हुन्।
उनले दलहरूले सरकार दिन नसकेको अवस्थामा संसद् पूरा अवधि चलोस् भन्नका लागि संविधानले नै सांसदहरूलाई आत्मनिर्णयको अधिकार दिएको दाबी गरे। ‘संविधानको धारा ७६ को उपधारा ५ ले प्रतिनिधिसभाका सदस्यको स्वतन्त्र अस्तित्व, आत्मनिर्णयको अधिकार दिएको छ,’ पौडेलले भने, ‘त्यो भनेको सांसदहरूको स्वविवेकीय अस्तित्व स्वीकार गरेको अवस्था छ। यो विशिष्ट अवस्था हो। यो विशिष्ट अवस्थाको अहिलेको परिस्थितिमा प्रयोग भएको हो।’
नेता पौडेलले फेरि एक पटक संविधानको रक्षा गर्ने जिम्मेवारी न्यायमुर्तिहरुको हातमा पुगेको बताए। उनले भने, ‘अहिले प्रतिनिधिसभाका बहुमत सदस्यहरु यो संविधान, लोकतन्त्र र संघीय गणतान्त्रिक राज्यव्यवस्थाको रक्षा गर्न सर्वोच्च अदालत पुग्नुभएको छ, फेरि एक पटक संविधानको रक्षा गर्ने जिम्मेवारी न्यायमुर्तिहरुको हातमा छ।’
उनले केपी ओलीले चुनाव गराउने घोषणा गर्ने, तर बाहानाबाजी गरेर चुनाव नगराउने नियत राखेको बताए। ‘देशलाई विकल्प चाहिएको छ, चुनावमा जाने भनिएको छ। तर अहिले चुनावमा जाने अवस्था देखिदैन। चुनाव लोकतान्त्रिक अभ्यास हो भनेर चुनावको घोषणा गर्ने, तर महामारीको कारणले गर्न सकिएन भनेर कारण देखाउने र चुनाव नगर्ने मानसिक तयारी देखिएको छ,’ उनले भने, ‘त्यो अवस्थाबाट पार पाउनका लागि देशले विकल्प पाउनुपर्छ।’
पौडेलले पार्टीको १४ औँ महाधिवेशनका लागि दुई विकल्प अघि सारेका छन्। ‘महाधिवेशन गर्ने दुई विकल्प छन्, एउटा जे जति उपलब्ध क्रियाशील सदस्य छन्, तिनीहरुबाटै महाधिवेशन सम्पन्न गर्ने। अर्को पूरानै महाधिवेशन प्रतिनिधिलाई आधार मानेर महाधिवेशन गर्ने,’ उनले भने, ‘तर जसरी पनि महाधिवेशन गर्नुपर्छ, पार्टीलाई असंवैधानिक हुनबाट बचाउनुपर्छ।’



लोकपाटी न्यूज

