काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) र नेपालका राजनीतिक दलका शीर्ष नेताहरु भर्चुअल बैठकमा जुटेका छन्। सिपिसीको तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले प्रतिनिधित्व गर्नेछन्।
बेइजिङबाट प्राप्त सूचना र नेपाली नेताहरूका अनुसार ‘महामारीविरुद्ध लड्न र जनताको जीवन रक्षा गर्नसँगै काम गर्ने तथा चीन र नेपालका राजनीतिक दलहरूको महामारीविरुद्ध संयुक्त लडाइँ’ शीर्षकमा बैठक भइरहेको छ। सीसीपीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले आयोजना गरेको बैठकको नेतृत्व विभागका प्रमुख सोङ ताओले गरिरहेका छन्।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेपाल मजदुर किसान पार्टीलगायतका नेताहरू सहभागी छन्। नेकपा एमालेबाट महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेसबाट नेता नारायण खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र कृष्णबहादुर महराले सहभागिता जनाएका छन्। जसपाबाट अध्यक्ष उपेन्द्र यादवले सहभागिता जनाएका छन्।
सीसीपीले नेपालका राजनीतिक दलहरूसँग यसरी बैठक गर्न लागेको यो पहिलोपटक हो। यसअघि पनि विदेश विभागले भर्चुअल र नेपालमै आएर कार्यक्रम गर्दा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टीसँग मात्र गर्दै आएको थियो।
नेकपा फुटेपछि सीसीपीले यसपटक एमाले र माओवादी केन्द्रसहित अन्य राजनीतिक दललाई पनि छलफलमा सहभागी गराएको हो। सीसीपीको विदेश विभागले यसअघि काठमाडौंमै आएर चिनियाँ राष्ट्रपति सी चिनफिङको ‘सी विचारधारा’ बारेमा समेत नेकपाका नेताहरूलाई कक्षा दिएको थियो।



लोकपाटी न्यूज

