काठमाडौं। नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ। सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बैठक राखेका हुन्। बैठकमा वर्तमान केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीहरू उपस्थित छन्।
विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले बैठक डाकेका हुन्। संसद् विघटन, विपक्षी गठबन्धनको रणनीति, अदालती प्रक्रिया र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल भइरहेको जनाइएको छ। संसद् विघटनलगायत घटनाक्रमपछि काँग्रेस सभापति देउवाको सक्रियता बढेको छ।
मंगलबार सिंहदरबारमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो। १४६ सांसदको हस्ताक्षरसहित संसद् विघटन बदर र सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्चमा रिट हालेको छ। मंगलबारको बैठकमा विपक्षी गठबन्धनका नेताहरूले कानुनविदहरुसँग छलफल गरेका थिए।
अदालतमा रिट हालिएपछिका सम्भावित घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक राखेका हुन्।



लोकपाटी न्यूज

