महन्थ ठाकुरलाई सोधिएको ९ बुँदे स्पष्टीकरणमा के छ ?

mahanta-thakur
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ। पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले ठाकुरलाई पार्टी विधान विपरीत काम गरेकाले किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो।

जसपा कार्यकारिणी समितिका बहुमत सदस्यहरूको जेठ ८ गते बसेको बैठकको निर्णय बमोजिम मंगलबार ७२ घण्टे स्पष्टीकरण पत्र पठाएको हो। कार्यकारिणी समितिमा यादव-भट्टराई पक्षको स्पष्ट बहुमत छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरीत किन साथ दिएको भन्दै स्पष्टीकरण पत्रमा सोधिएको छ। यस्तै पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र केका आधारमा संसदीय दलको नेता घोषणा गरी संघीय सांसदलाई पत्र पठाएको भन्दै स्पष्टीकरण पत्रमा सोधिएको छ।

पार्टी निर्णयविना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद् सचिवालयमा पार्टीको तर्फबाट पत्रहरू लेख्ने/पठाउने कार्य किन गरेको, कार्यकारिणी समितिको बैठकको बेवास्ता गर्ने, अनुपस्थित हुने तर आफ्नो समर्थकलाई मात्र बोलाएर पार्टी विधान र आचार संहिता विपरीत गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको भन्दै प्रश्न गरिएको छ।

यस्तै गत जेठ ३ गते दुई अध्यक्षले जारी गरेको ८ बुँदे सहमति किन पालना नगरेको भन्दै प्रश्न गरिएको छ।