काठमाडौं। नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले आफ्नो कारण एमाले एकताका लागि वार्ता भंग भएको प्रचार झुटो भएको प्रस्ट पारेका छन्। जेठ ९ गते वार्ता निष्कर्षमा पुगेका बेला नेता भीम रावलले बालुवाटार नगएपछि वार्ता भंग भएको समाचार सार्वजनिक भएको थियो। त्यस समाचारलाई खण्डन गर्दै रावलले आफ्नो कारणले वार्ता भंग नभएको प्रस्ट पारेका हुन्।
उनले पार्टी र जनसंगठनका सबै संरचना २०७५ साल जेठ २ गते अघिको स्थितिमा रहने, गत फागुन २३ गते पछि २८ गतेको निर्णय लगायतका सबै पार्टी निर्णयहरू बदर गर्ने, दुई दिनभित्र स्थायी समितिको बैठक गर्ने, स्थायी समितिको बैठकबाट राष्ट्रिय महाधिवेशन र अन्य स्तरका अधिवेशन, पार्टी सदस्यतालगायत संगठनात्मक विषयमा सिफारिस प्रतिवेदन पेस गर्न कार्यदल बनाउने र प्रतिनिधि सभा विघटनको सिफारिस फिर्ता लिएको राजनीतिक निर्णय गर्नुपर्ने भन्दै यसबारे प्रधानमन्त्रीसँग सोधेर जवाफ दिने भनिएकोमा त्यसपछि नेता विष्णु पौडेलको फोन नआएको बताए।
‘एउटा अनलाइन समाचारमा केही व्यक्तिहरूले पार्टी एकताका लागि जेठ ९ गते सबै काम गरिसकेको तर भीम रावल जेठ १० गते बालुवाटार नगएकोले वार्ता भंग भएको भन्ने कुरा झूटो हो। मलाई विष्णु पौडेलजीले फोन गर्दा यसो भनेको थिएँ-म एकताको पक्षमा छु। एकताका लागि पार्टी अध्यक्ष केपी ओलीजीबाट आजै यी कुरा होउन्: पार्टी र जनसंगठनका सबै संरचना २०७५ साल जेठ २ गते अघिको स्थितिमा रहने, गत फागुन २३ गते पछि २८ गतेको निर्णय लगायतका सबै पार्टी निर्णयहरू बदर गर्ने, दुई दिनभित्र स्थायी कमिटीको बैठक गर्ने, स्थायी कमिटीको बैठकबाट राष्ट्रिय महाधिवेशन र अन्य स्तरका अधिवेशन, पार्टी सदस्यता लगायतका संगठनात्मक विषयमा सिफारिस प्रतिवेदन पेस गर्न कार्यदल बनाउने र प्रतिनिधि सभा विघटनको सिफारिस फिर्ता लिएको राजनीतिक निर्णय गर्ने। यसबारे प्रमसँग सोधेर जवाफ दिने भनिएकोमा त्यसपछि विष्णुजीको फोन आएन,’ उनले लेखेका छन्, ‘यी कुराहरू अरू कसैले गराए मेरो पूर्ण समर्थन हने अरू केही नेता साथीहरूलाई पनि भनेको थिएँ। तर बेलुकी म लगायत ११ जनालाई पार्टी सदस्यबाट निष्काशसत गरिएको समाचार आयो। यही हो सत्य कुरा।’




लोकपाटी न्यूज

