काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी समिति बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको हो।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। एमाले नेता सुवासचन्द्र नेम्वाङका अनुसार आजको बैठकमा यसअघि स्पष्टीकरण सोधिएका ११ जना नेताहरुबारे आवश्यक निर्णय हुने छ। एमाले स्थायी समितिको शनिवारको बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जना सांसदसँग स्पष्टीकरण मागेको थियो।
तर कसैले पनि स्पष्टीकरण दिएका छैनन्। स्पष्टीकरणको समयसीमा आज बिहान सकिएको छ। ती सदस्यहरूलाई कारबाही प्रक्रिया के हुन्छ भन्नेबारे एमालेले स्पष्ट पारेका छैनन्। नेपाल पक्षले विपक्षीहरूसँग मिलेर ओली नेतृत्वको सरकार ढाल्ने कसरत गरिरहेका बेला एमालेको स्थायी समिति बैठक बस्न लागेको हो।
उनीहरू केहीबेर पछि विपक्षी गठबन्धन सर्वोच्च जाँदैछन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने मागसहित रिट निवेदन दिन उनीहरू सर्वोच्च पुग्न लागेका हुन्। उक्त रिटमा माधव नेपाल पक्षको ककसको हस्ताक्षर हुन्छ सोही अनुसार एमालेले कारबाही प्रक्रिया अघि बढाउने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
‘नेपाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणबारे थप निर्णय हुन्छ। आज अहिलेसम्म जवाफ आएको छैन। अदालतमा सरकारविरुद्ध पर्ने रिटमा ककसले हस्ताक्षर गर्छ- हेरेर हस्ताक्षर गर्नेलाई कारबाही हुन्छ,’ सचिव तामाङले भने।



लोकपाटी न्यूज

