काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल खोल्ने भएका छन्। नेपालले आफ्नो समूह नयाँ दल खोल्ने निर्णयमा पुगेको खुलासा गरिसकेका छन्। अहिले उक्त विषयमा गृहकार्य भइरहेको बुझिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित झलनाथ खनाल, भीम रावल लगायतलाई नेताहरूमाथि कारबाही गर्ने निश्चित भएपछि नयाँ दल खोल्न निर्णयमा यो समूह पुगेको हो। अहिले नयाँ दलको खाका तय गर्ने गृहकार्य भइरहेको छ।
नेता नेपालको नेतृत्वमा नयाँ दल दर्ता गर्ने तयारी छ। बामदेव गौतम सहभागी भए उनी पनि सह अध्यक्ष हुने गरी नेतृत्वको व्यवस्थापन गर्ने तयारी भएको छ। वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन्। पार्टीको मार्गदर्शक सिद्धान्त भने जनताको बहुदलीय जनवाद नै रहने बताइएको छ।
महासचिवमा भीम रावल र सुरेन्द्र पाण्डे रहनेछन्। अष्टलक्ष्मी शाक्य, रगुजी पन्त, बेदुराम भुसाल उपाध्यक्ष रहनेछन्। उपमहासचिवमा योगेश भट्टराई र गोकर्ण विष्ट रहनेछन्। सचिवमा रामकुमारी झाँक्री र ठाकुर गैरे रहनेछन्। नेपालसँग साथमा रहने र कठिन समयमा साथ दिनेहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिने बताइएको छ।
पार्टीमा अधिकांश युवाहरूलाई स्थान दिने तयारी भएको छ। महिलालाई पदाधिकारीमा बढी स्थान दिने गरी तयारी भएको बुझिएको छ। प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग सहकार्य या एकीकरण गरेर जाने गरी तयारी समेत भएको छ।
यहीक्रममा नेपाल पक्षका युवा नेता जीवन राईले राजनीतिक दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गर्दै आयोगमा निवेदन परेको हो। तर राईले आफूले छुट्टै दल दर्ता गरेको प्रतिक्रिया दिएका छन्। उनले नेता नेपालसँग यस विषयमा सरसल्लाह समेत नगरेको बताएका छन्।



लोकपाटी न्यूज

