‘संसद विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने’

opposition_gathabandhan
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार सर्वोच्च अदालत जाने भएका छन्। शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने मागसहित विपक्षी गठबन्धन अदालत जाने भएको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रिटका सबै आवश्यक काजगाज तयार पार्ने र भोलि १० बजे रिट दर्ता गर्ने बताए। ‘प्रतिनिधि सभा विघटनविरुद्ध रिट तयार हुँदै छ। आज साँझसम्म रिटका लागि आवश्यक सबै कागजात मिलाएर सक्छौं। भोलि बिहान रिट दर्ता गर्छौं,’ प्रचण्डले भने।

आवश्यक तयारी पुरा नभएकोले आज सर्वोच्च जान नभ्याएको उनले बताए। राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी ५ दलको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो।

ती दलका सांसदहरूसहित शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, दुर्गा पौडेल लगायत नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार भेला भए। दलहरूले छुट्टाछुट्टै रूपमा हस्ताक्षर संकलन र नागरिकताको फोटोकपी संकलन गरेर संयुक्त रूपमा नयाँ बानेश्वरमा जम्मा भएका हुन्।