काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न विपक्षी गठबन्धनका सांसद हस्ताक्षर गर्न व्यस्त छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (खनाल-नेपाल समूह), जनता समाजवादी पार्टी (भट्टराई-यादव समूह), जनमोर्चाका सांसद संसद् हल बानेश्वरमा भेला भएर हस्ताक्षर गरिरहेका छन्।
अहिलेसम्म नेकपा एमालेको खनाल-नेपाल समूहका २२ जना सांसदहरु पनि हस्ताक्षर गर्न बानेश्वरस्थित संसद् भवन पुगिसकेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन्। ‘केही सांसदहरुले आएर हस्ताक्षर गरिसक्नु भयो। केही भरखर आइपुग्नु भयो। केही आउँदै हुनुहुन्छ,’ झाँक्रीले भनिन्, ‘अहिलेसम्म नेकपा एमालेका २२ जना सांसद आइसक्नु भएको छ।’
तर, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पेश गरिने रिटका पक्षमा नेपाल समूहका नेता सुरेन्द्र पाण्डले हस्ताक्षर गरेनन्। हस्ताक्षर गर्न भनेर संसद भवन आएका उनी हस्ताक्षर नगरी बाहिरिएका थिए। उनले आज रिट दर्ता नहुने भएकाले हस्ताक्षर सोमबार गर्ने प्रतिक्रिया सञ्चारकर्मीलाई दिए।
हस्ताक्षर गर्नेमा विरोध खतिवडा जीवनराम श्रेष्ठ, घनश्याम भुसाल सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन झपट रावल, निरादेवि जैरू, शारदा यादव, कल्याणी खड्का लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ र भवानीप्रसाद खापुङले भने हस्ताक्षर गरिसकेका छन्।



लोकपाटी न्यूज

