काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ। शनिबार बसेको जसपा कार्यकारिणी समितिका बहुमत सदस्यहरूको बैठकले पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै चार नेतालाई स्पष्टीकरण सोधेको हो।
सोह्रखुट्टेको नेपाः ब्यांक्वेटमा बसको अध्यक्ष उपेन्द्र यादवसहितको बैठकले ठाकुर, महतोका साथै सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। उनीहरुले पार्टीको विधानविरुद्ध गतिविधि गरेको बैठकको निष्कर्ष छ। ठाकुर-महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने निर्णय गरेको थियो। त्यस्तै ओलीको कदमलाई साथ दिँदै गठबन्धन गर्ने तयारीसमेत गरिरहेको छ।
सोही बैठकले चार नेतामाथि स्पष्टीकरण सोध्ने र केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिगामी कदमलाई साथ दिनेहरूमाथि छानबिन गर्ने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यकारिणी सदस्य नवराज सुवेदीका अनुसार पार्टी नीति विपरीत कार्य गर्ने नेताहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको बताए। ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा यादव र भट्टराई पक्षको स्पष्ट बहुमत छ।
उक्त बैठकले अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको निर्णयविपरित ओलीलाई प्रधानमन्त्रीमा आफ्नो दलको समर्थन छ भन्ने पत्र राष्ट्रपति कार्यालयमा बुझाएकोबारे स्पष्टीकरण सोधेको हो। त्यस्तै नेता राजेन्द्र महतोलाई संसदीय दलको विधान नै नबनी आफू संसदीय दलको नेता चुनिएको भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको स्पष्टीकरण सोधिएको हो।
नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारले बनाएको संविधान संशोधन कार्यदलमा बसेकोबारे स्पष्टीकरण सोधिएको हो। यसअघि सरकारले नेकपा एमालेका तीन जना र जसपाका कर्ण र शुक्ल सदस्य भएको संविधान संशोधन कार्यदल बनाएको थियो। कर्ण र शुक्लले पार्टीको निर्णयबिना नै कार्यदलमा बसेर वार्ता गरेकोमा स्पष्टीकरण सोधिएको एक नेताले बताए।
उक्त बैठकले ओली सरकारको प्रतिगामी कदमलाई साथ दिने सांसदहरूमाथि छानबिन गर्न समिति पनि बनाएको छ। ‘बाटो बिराएर गएकाहरूलाई मूलधारमा फर्काउने तर जानी-जानी ओलीको प्रतिगामी कदमसँग साँठगाँठ गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाउने गरी समिति बनाइएको हो,’ ती नेताले भने।
यसअघि जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक डाकेका थिए तर बिचमा अध्यक्ष ठाकुरले एक्लै विज्ञप्ति निकालेर कोरोनाका कारण बैठक स्थगित भएको बताएका थिए।



लोकपाटी न्यूज

