सरकारमा जाँदै जसपाको ठाकुर-महतो समूह

Mahanth_Thakur_Rajendra_Mahato
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष छलफलमा जुटेको छ। प्रधानमन्त्री ओलीसँग ठाकुर-महतो पक्षले आज छलफल गर्दैछन्। मन्त्रालयको संख्या र नाम टुंगो लागे आइतबार नै मन्त्रीमण्डलमा सहभागी हुने सम्भावना छ।

ठाकुर-महतोनिकट एक नेताका अनुसार अहिलेसम्म ८ देखि १० वटा मन्त्रालय लिनेबारेमा छलफल चलेको छ। तर, मन्त्रालयको नाम टुंगो लागेको छैन। पूर्वमाओवादीका नेताहरूले सम्हालेका मन्त्रालय नै लिने वा अन्य भन्नेमा पनि छलफल चलिरहेको छ। तर, टुंगो नलागेको ती नेताको भनाइ छ। तर, राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने सहमति भने भइसकेको छ। दुईवटासम्म उपप्रधामन्त्री लिन सक्ने ती नेताको भनाइ छ। र, केही राज्यमन्त्री पनि बन्नेछन्।

ती नेताका अनुसार उपेन्द्र यादव पक्षबाट तानिएका विमल श्रीवास्तव, उमाशंकर अरगरियालयातका नेताहरूको पनि व्यवस्थापन गर्नुपर्ने भएकोले १० वटा मन्त्रालयमा दाबी भइरहेको छ। बढी मन्त्रालय हुदाँ नेताहरूको व्यवस्थापन सजिलो हुने भन्दै ओलीलाई जानकारी पनि गराइसकेका छन्। श्रीवास्तव र अरगरियालाई त मन्त्रीको आश्वसन दिएर नै ठाकुरले आफ्नो पक्षमा तानेका थिए। त्यसको सहजीकरण एमालेका नेता महेश बस्नेतले गरेका थिए।

अहिले पूर्वमाओवादीका नेताहरूले सम्हालेका मन्त्रालयहरू गृह, उर्जा, उद्योग, सहरी, खानेपानी, श्रम, युवा तथा खेलकुदलगायतका मन्त्रालय छन्। कतिपयले गृह मन्त्रालयमा भने पूर्वमाओवादी नेता रामबहादुर थापा बादललाई नै दोहोर्याउने मनसायमा प्रधानमन्त्री रहेको बताएका छन्। त्यसको संकेत जसपाका नेताहरूलाई पनि ओलीले दिएका छन्।