यस्तो छ पाँच दलको संयुक्त वक्तव्य (पूर्णपाठ)

opposition_gathabandhan
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमको घोर निन्दा र भर्त्सना गरेको छ। उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी भएको उनीहरूको ठहर छ। शनिवार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले यस्तो ठहर गरेको हो।

नेपालको संविधान र लोकतन्त्रमाथि प्रहार गरिएको विपक्षीको निष्कर्ष छ। पाँच दलको बैठकले ओलीले निर्वाचन गर्न नचाहेको बरु निरंकुशता लादन खोजेको आरोप लगाएका छन्। उनीहरुले सत्ता लम्ब्याउनका लागि ओलीले मध्यावधी निर्वाचनको घोषणा गरेको निष्कर्ष निकालेका हुन्।

‘निर्वाचन नगराई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुराशयबाट घोषित आम निर्वाचनले कोरोना संक्रमणको महामारीको भयावह अवस्थाको सामना गरिरहेका जनताको जीवनलाई झन गम्भीर संकटमा धकेलिदिएको छ,’ पाँच दलले भनेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदमको राजनीति र कानूनी रूपमा सशक्त किसिमले प्रतिवाद गर्न आफूहरू कटिबद्ध रहेको उनीहरूले जनाएका छन्। बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए।

धारा ७६(४) को उलंघन

प्रधानमन्त्री ओली संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री भएकोमा उपधारा ४ मा अनिवार्य विश्वासको मत लिनुपर्ने भए पनि उपधारा ४ को उल्लंघन गरिएको भन्दै बिरोध गरिएको छ।

‘नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीद्वारा सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने बाध्यकारी प्रावधानको उल्लंघन गर्दै उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनुपर्ने सिफारिश राष्ट्रपतिलाई गरियो,’ विज्ञप्तिमा भनिएको छ।

राष्ट्रपति विदेयादेवी भण्डारीले संविधानको संरक्षण नगरेको, सरकार गठनका लागि एक दिनको मात्रै समय दिइएको बहुमत सांसदको हस्ताक्षरलाई मान्यता नदिएर षड्यन्त्र गरेको भन्दै विज्ञप्तिमा आक्रोश व्यक्त गरिएको छ। ‘संविधानको संरक्षणको दायित्व रहेको राष्ट्रपतिबाट समेत प्रधानमन्त्रीको उक्त सिफारिश अनुसार नै एक दिनको मात्र समय दिएर नयाँ प्रधानमन्त्री नियुक्तिको लागि आव्हान भयो,’ विज्ञप्तिमा भनिएको छ।

मुलुक राजनीतिक जटिलतार्फ धकेलियो

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको मिलेमतोमा मुलुकलाई राजनीतिक जटिलतातर्फ धकेलेको विपक्षी दलका नेताहरुले आरोप लगाएका छन्। उनीहरुले देउवा नेतृत्वमा सरकार गठनका लागि गरिएको दावीलाई मान्यता नदिएर संविधानको उल्लंघन गरेको आरोप लगाएका हुन्।

‘कांग्रेसका सभापति तथा प्रतिनिधि सभाका माननीय सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि प्रतिनिधिसभाका १४९ माननीय सदस्यहरुको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दावी प्रस्तुत गरेका थियौं। नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम हामीले प्रतिनिधिसभाका बहुमत सदस्यहरुको हस्ताक्षर सहित विधिसम्मत पेश गरेको दावीमाथि संविधानतः निर्णय गरी प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक दायित्व राष्ट्रपति विद्या भण्डारीबाट निर्वाह गरिएन,’ विज्ञप्तिमा भनिएको छ।