प्रधानमन्त्री र राष्ट्रपतिकाे अनुचित साँठगाँठले प्रतिनिधि सभा भंग भयाे : एमाले वरिष्ठ नेता नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडाैँ। एमाले नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अनुचित साँठगाँठ गरेर प्रतिनिधि सभा भंग गरेको  बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नयाँ सरकार निर्माणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा प्रतिनिधि सभाका १४९ सदस्यहरु स्पष्ट बहुमत रहेको यथार्थलाई वेवास्ता गर्दै प्रधानमन्त्री नियुक्त गर्नुको साटो संवैधानिक प्रावधान कुल्चेर प्रतिनिधि सभा भंग गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘ यो प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाली जनताले आफ्नो बारेमा आफै निर्णय गर्न पाउने तथा राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरी राख्दै राज्य सञ्चालन गर्नुपर्ने संवैधानिक र पदीय मर्यादा विपरित क्रियाकलापकै निरन्तरता हो, नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेता नेपालले ओलीको संसद विघटन गर्ने दलहरुलाई फुटाउने र संविधानमाथि आघात पर्ने अलोकतान्त्रिक कदम २०७७ साल बैशाखबाटै सुरु गरेको समेत बताएका छन्।

२०७७ साल वैशाखबाट सुरू गरिएको अलोकतान्त्रिक यात्रा २०७७ साल पुस ५ गते प्रतिनिधि सभाको विघटन, गत फागुन महिनामा नेकपाको विभाजन हुँदै यही जेठ ७ गते मध्यरातमा देशघाती जनघाती कुकर्मका रूपमा प्रकट भएको उनको भनाइ छ। नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्री केपी ओलीबाट धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था मात्र उल्लंघन गरिएन धारा ७६ को उपधारा ५ लाई मिचिएको उनले बताएका छन्।

‘प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने दुराशयलाई बुझेर नै हामीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी दल (उपेन्द्र यादव पक्ष), राष्ट्रिय जनमोर्चासँग मिलेर प्रतिनिधिसभाबाट वैकल्पिक सरकार निर्माणको स्पष्ट सम्भावनासहित राष्ट्रपति समक्ष आवेदन दिने कार्यको समर्थन गरेका थियौं,’उनले भनेका छन्,’आवेदनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा प्रतिनिधिसभाको १४९ सदस्यहरूको हस्ताक्षरसहित स्पष्ट बहुमत रहेको उल्लेख गरिएको थियो। यो नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत प्राप्त प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने बाध्यात्मक व्यवस्था हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्