काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटन विरुद्ध उत्रन आह्वान गरेका छन्।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध प्रतिवादमा उत्रन खनालले आह्वान गरेका हुन्। उनले ओलीको कदम प्रतिगामी र तानाशाही भएको भन्दै विरोध जनाएका छन्। फेसबुक मार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै खनालले लोकतान्त्रिक गणतन्त्र सखाप पार्न षड्यन्त्र भएको आरोप लगाए। खनालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको कदम प्रतिगामी भएको तर्क गरेका हुन्।
‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ। यो कदम कदापि क्षम्य हुने छैन। यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो। यो कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु,’ उनले भनेका छन्।




लोकपाटी न्यूज

