काठमाण्डौ। विपक्षी दलहरुको गठबन्धनको संयुक्त बैठक सुरु भएको छ।
प्रतिनिधि सभा विघटनसँगै मध्यावधि चुनावको मिति घोषणा भएसँगै विपक्षी गठबन्धनले थप रणनीति बनाउन संयुक्त छलफल सुरु गरेका हुन्।अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र एमालेको खनाल–नेपाल समूहको छलफल सुरु भएको कांग्रेस नेता बालकृष्ण खाणले जानकारी दिए। हिजो संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको रुपमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेस गरेका थिए।
१४९ जनाको हस्ताक्षरसहित दाबी पेस गर्दासमेत प्रधानमन्त्रीमा नियुक्त नगरि प्रतिनिधि सभा नै विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्ने कदमलाई विपक्षी गठबन्धनले प्रतिगमनको रुपमा लिएको छ। आजको बैठकमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सबैजनाको तर्फबाट अदालतमा रिट हाल्नेबारेसमेत छलफल हुने नेताहरुले बताएका छन्।
गएराति मध्यावधि चुनावको घोषणा भएलगत्तै राजनीतिक दलहरु बिहानैदेखि आन्तरिक, औपचारिक र अनौपचारिक छलफलमा व्यस्त छन्। आन्तरिक छलफलपछि उनीहरु अहिले संयुक्त छलफलमा सामेल भएका हुन्। बैठकमा राष्ट्रिय जनमोर्चासमेत सहभागी भएको छ।



लोकपाटी न्यूज

