काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार दिउँसो आयोजित पत्रकार सम्मेलनमा आफूले विश्वासको मत लिन नसकिने निश्चित भएपछि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएकाले बाटो खोलिदिएको दाबी गरेका थिए। तर, पत्रकार सम्मेलन गरेको केही समयमा एमाले अध्यक्ष ओलीले संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।
वैशाख २७ मा संसद्मा विश्वासको मत नपाएपछि पदमुक्त भएका ओलीलाई राष्ट्रपतिले वैशाख ३१ मा संविधानको ७६ (३) अनुसार अल्पमतको सरकारका प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। प्रधानमन्त्री भएपछि उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो।
विश्वासको मत नपाउने भएपछि वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिसमक्ष निवेदन दिएको दाबी गरेका ओलीले फेरि बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। उनले एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित दाबी पेस गरेका हुन्। ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो समूहको समर्थन रहेको आधार प्रस्तुत गरेका छन्।
तर जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका १२ सांसदले विपक्षी गठबन्धनमा हस्ताक्षर गरेका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन उनीहरूले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गरेका छन्। ओलीले भने उनीहरूको समर्थन पनि आफूलाई रहेको दाबी गरेका छन्।
यद्यपि प्रधानमन्त्रीमा सभापति देउवा राष्ट्रपति कार्यालय शितलनिवासमा पुग्दा उनको साथमा जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महेन्द्रराय यादव पनि सहभागी थिए। विपक्षी दललाई समर्थन गर्न राष्ट्रपति कार्यालयमा पुगेका नेताहरूको समर्थन पनि आफूलाई रहेको ओलीको दाबी छ।
जसपाका नेता महेन्द्रराय यादवले केपी ओलीलाई आफ्नो पार्टीको समर्थन नरहेको बताए। उनले पार्टीको कार्यकारिणी समितिले देउवालाई समर्थन गर्ने निर्णय गरेको दाबी गरे। ‘हामीले राष्ट्रिय सहमतिको आधारमा सरकार गठन गर्न १४९ जनाको हस्ताक्षर दिएका छौं,’ उनले भने, ‘ओलीलाई कसैले लेखेर दिएकै भरमा समर्थन त हुँदैन। त्यसका लागि पार्टीको निर्णय चाहिन्छ। पार्टीको कार्यकारिणी र बहुमतको निर्णय हामीसँग छ। उहाँहरूसँग त छैन। कसैले लेखिदिएको छ भने पनि त्यो त मान्य हुँदैन।’
ओलीसँग प्रधानमन्त्रीमा दाबी गर्ने संख्या नरहेको उनको दाबी छ। साथै उनले सांसदहरूको समर्थन रहेको हस्ताक्षर पनि ओलीसँग नरहेको प्रस्ट पारे। ‘राष्ट्रिय सहमतिको आधारमा सरकार गठन हामी र स्वयं माधवकुमार नेपाल जी पनि त्यहाँ पुग्नु भएको छ। अनि ओलीको संख्या कसरी पुग्यो ?,’ यादवले लाेकपाटीसँग भने, ‘उहाँसँग संख्या छैन। हस्ताक्षर छैन। खाली लेख्ने र लेखाउने काम भएको छ। जसपाको समर्थन छ भनिएको छ। त्यो सत्य होइन।’
यस्तै, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनलाई साथ दिएका छन्। नेपाल पक्षका २७ सांसदले पार्टी अध्यक्ष ओलीलाई सत्ताबाट हटाउन विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गरेका छन्। नेता नेपाल पनि देउवासँगै राष्ट्रपति कार्यालयमा पुगेका थिए।
तर, ओलीले एमालेका पुरै सांसदको साथ आफूलाई रहेको बताएका छन्। सोही आधारमा ओलीले प्रधानमन्त्रीमा दाबी गरेका हुन्। देउवालाई सघाउन राष्ट्रपति कार्यालय पुगेको बेला नेता नेपालले ओलीको १२१ को दाबीमाथि प्रश्न पनि उठाएका छन्। उनले संविधानको धारा ७६(५) अनुसार सांसदले आफ्नो निर्णय प्रयोग गरेर हस्ताक्षर गर्न पाउने भएकाले देउवाको पक्षमा उभिएको बताएको एक नेताले जानकारी दिए।



लोकपाटी न्यूज

