काठमाडौं। नेपाली कांग्रेसले विपक्षी अन्य दलहरुको सहकार्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा प्रतिरोध गर्ने भएको छ। सभापति शेरबहादुर देउवा निवासमा बसेको शीर्ष तहका नेताको बैठकले बिहीबार राष्ट्रपतिले गरेको आह्वान संविधान मिच्ने प्रधानमन्त्रीको विगतकै प्रवृत्तिको निरन्तरता भएको ठहर गरेको छ।
‘प्रधानमन्त्रीमा ओली निर्वाचित भइसकेपछि श्रृंखलाबद्ध संविधान मिच्ने कार्यको यो अर्को निरन्तरता हो,’ बैठकपछि कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले भने, ‘राजीनामा नगरी ७६ (५) को प्रक्रिया अघि बढाउनु र २१ घन्टे समय सीमा तोक्नुले संविधान मिचिएको स्पष्ट गर्छ।’
राष्ट्रपतिको पछिल्लो कदमबारे छलफल गर्न आयोजित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले लोकतन्त्र एवं संविधानको रक्षाका निम्ति अरू दलहरूसँगको सरसल्लाहमा उपयुक्त विकल्प रोज्ने निर्णय भएको पार्टीका सहमहामन्त्री महतले बताए।
त्यस्तो विकल्पमा के विपक्षी दलहरूले जनता समाजवादी पार्टीका नेतालाई प्रधानमन्त्रीको रूपमा स्वीकारेर जाने पनि पर्छ ? भनी सोधिएको प्रश्नमा उनको जवाफ प्रस्ट थिएन। उनले भने, ‘जसपालाई नेतृत्व दिने भन्ने कुरा महत्त्वपूर्ण होइन। संविधानको रक्षा महत्त्वपूर्ण हो।’
राष्ट्रपतिको कदमबारे आलोचना भइरहँदा अब कांग्रेसले राष्ट्रपतिबारे उपयुक्त र व्यवहारिक बाटो खोज्ने उनले बताए। उनले कानूनी उपचारको बाटोबारे पनि आफूहरूले सरसल्लाह गरिरहेको बताए। त्यस्तै नेता रमेश लेखकअनुसार पार्टीले प्रतिनिधिसभामा रहेका अन्य विपक्षी र अरू दलहरूसँग छलफल गरेर भावी नीति तय गर्नेछ।
उनी भन्छन्, ‘अहिले जुन प्रधानमन्त्रीले हठात् नयाँ सरकार गठनका लागि सिफारिस गर्नुभयो र राष्ट्रपतिले आह्वान गर्नुभयो त्यो उहाँहरू दुवैले आफ्नो पदको चरम दुरुपयोग गरेर गरेको काम हो। यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी प्रतिपक्षमा रहेका दल र अरू नेतासँग संवाद गरेर एउटा निष्कर्षमा पुग्छौं।’



लोकपाटी न्यूज

