देउवा बोलाए विपक्षी गठबन्धनको बैठक, माधव नेपाललाई पनि सहभागी हुने

Prachanda-deuwa-upendra
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका छन्। छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवासमा पुगिसकेका छन्।

बैठकका लागि नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पनि बोलाइएको छ। बदलिँदो राजनीतिक परिस्थितिमा कसरी अगाडी बढ्ने ? भन्ने विषयमा छलफल गर्न देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका हुन्। यसअघि देउवाले पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए।

कांग्रेस पदाधिकारी बैठकले सबै विकल्प खुला राखेर विपक्षी गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार कांग्रेसले छलफल थालनी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने विषयमा छलफल गर्न कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल थालेको छ।

देउवा निवास पुगेका प्रचण्डले राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग आउनसक्ने बताएका छन्। ‘छलफल भइरहेको छ। महाभियोग आउनसक्छ,’ उनको भनाइ थियो। राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको धारा ७६ को ५ अनुसार संवैधानिक प्रक्रिया मिच्दै सरकार गठनको आह्वान गरेपछि विपक्षी दलहरू रुष्ट बनेका हुन्। राष्ट्रपतिले दलहरूलाई त्यस अनुसार बहुमतको आधार प्रस्तुत गर्दै प्रधानमन्त्रीमा दाबी गर्न शुक्रबार पाँच बजेसम्मको समय दिएकी छिन्।