ह्वीप उल्लंघन भएपछि स्थगित भयो एमाले कार्यदलको बैठक

UML_Karyadal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेभित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक पुनः सरेको छ। बिहीबार अपराह्न ५ बजे बस्ने तय भएको बैठक शुक्रवार दिउँसो १ बजे बस्ने गरी सरेको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

यसअघि बुधवार बस्ने कार्यदलको बैठक बिहीबार ५ बजे बस्ने भनेर सरेको थियो। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको ह्वीप उल्लंघन गरेपछि बिहीबार बोलाइएको कार्यदलको बैठक स्थगित भएको बुझिएको छ। यद्यपि नेता नेम्वाङले कार्यदलका सदस्यहरू सहमतिमै आजको बैठक स्थगित गरिएको जानकारी दिए।

‘आज राष्ट्रिय सभाको निर्वाचन लगायतका विषय भएकाले भोलि (शुक्रवार) बस्ने गरी कार्यदलको बैठक स्थगित गरिएको हो,’ नेम्वाङले भने। नेपाल पक्षले एमालेका उम्मेदवारलाई मत नहालेपछि एमालेको विवाद फेरि बढ्ने देखिएको छ। राष्ट्रियसभाको शुक्रवार सम्पन्न निर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापालाई नेपाल पक्षका जनप्रतिनिधिले मत नदिएको बताइएको छ।

एमाले स्रोतका अनुसार विवाद बढेकाले अब बैठक बस्न उपयुक्त हुने नहुने निर्क्योल गरेर मात्रै वार्ता टोलीको बैठक बस्ने छ। ओली समूहले नेपाल समूहले गरेको ह्वीप उल्लंघनलाई गम्भीर रूपमा लिने बताएको छ। पार्टीको आधिकारिक उम्मेदवार बादललाई मतदान नगरी अर्को उम्मेदवारलाई मत दिने कार्यलाई बैठकले भर्त्सना गरेको एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बताए।