अण्डाकाे मूल्य हालसम्मकै उच्च

लोकपाटी न्यूज

चितवन।अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो। लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ। नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार मंगलवारदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० ओटाको)  ३७० रुपैयाँ र मिडियमको ३४० रुपैयाँ पुगेको छ। यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैया वृद्धि गरिएको हो। ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको थियो। यसै वर्ष दुई महीनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य  ३६० रुपैयाँ पुगेकामा केही दिनपछि घटेको थियो।

एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन्। ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ। अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ। सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य ११ दशमलव ५३  रुपैया तय गरे पनि हाल लागत मूल्य बढेका कारण१२ दशमलव ३३ रुपैया हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताए। दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ।

देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले मात्रै थेग्ने दाबी गर्दै उनले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए। नेपालमा २ हजार ७०० किसानले लेयर्स कुखुरा पाल्दै आएका छन्। यी फार्ममा २ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायी बताउँछन्। नेपालमा कुखुरापालन क्षेत्रमा रु एक खर्ब २५ अर्बभन्दा बढी लगानी भएको व्यवसायीहरुको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्