राष्ट्रियसभा उपचुनाव : थापा र देवकोटा हेटौँडामा

Debkota_Badal
लोकपाटी न्यूज

हटौँडा। बागमती प्रदेशतर्फको रित्त राष्ट्रियसभा सदस्य पदका उम्मेदवार गृहमन्त्री रामबादुर थापा र डा. खिमलाल देवकोटा हेटौँडा आइपुगेका छन्। बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि उनीहरु हेटौँडा आइपुगेका हुन्।

बागमती प्रदेशतर्फ राष्ट्रिय सभा सदस्य रिक्त पदका लागि बिहीबार हेटौँडा- ४ स्थित भुटनदेवी माविमा हुने मतदानअघि छलफलका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका बादल हेटौँडा आएका हुन्। बादल आज दिउँसो १ बजे हेटौँडा आइपुगेका हुन्। उनी हेटौँडा-२ स्थित एभोकाडो होटेलमा बसेका छन्।

यसअघि अर्का उम्मेदवार डा. खिमलाल देवकोटा पनि हेटौँडा आइसकेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटा मंगलबारदेखि हेटौँडामै रहेर चुनावी प्रचारप्रसारमा जुटिरहेका छन्। देवकोटालाई निर्वाचन आयोगले कलम चुनाव चिह्न दिएका छ भने बादल सूर्य चिह्नबाट चुनाव लड्ने निश्चित भइसकेको छ।

बादलसँगै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि चुनावी प्रचारप्रसारमा जुटेका छन् । उनी पनि हेटौँडामा बादलसँगै पार्टीका नेता-कार्यकर्तासँग भेटघाटमै छन्। नेकपा एमालेको ओली-नेपाल पक्षबीच सहमति जुटिसकेको देखिए पनि हेटौँडामा भने आफ्नो पार्टीको उम्मेदवार बादललाई जिताउनका लागि ओली पक्षका नेता-कार्यकर्ता मात्र भेलामा जुटेका छन्। बादल र देवकोटासँगै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कृष्णबहादुर तामाङ पनि मादल चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका छन्।

मतदान बिहीबार बिहान ९ देखि ३ बजेसम्म हुने र मतदानका लागि मतदाताले पिसिआर रिपोर्ट बुझाउनुपर्ने अनिवार्य गरिएको छ। उम्मेदवार भए पनि चुनावमा होमिएका तीनैजनामा मताधिकार नभएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ।