एमाले कार्यदलको दोस्रो बैठक आज, कसको तयारी के छ ?

UML_Karyadal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज (बुधबार) पनि बस्दैछ। यसअघि मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले एकताका लागि कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको थियो।

कार्यदलका सदस्य सुवास सुवास नेम्वाङले आजको बैठक साँझ ७ बजे बस्ने जानकारी दिए। कार्यदलका सदस्य शंकर पोखरेल बुटवलबाट आउनु पर्ने तथा बिष्णु पौडेल बजेटमा व्यस्त भएकाले बेलुका ७ बजेका लागि बैठक राखिएको नेम्वाङले बताए।

आज बस्ने बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधिजस्ता विषयमा छलफल हुने बताइएको छ। त्यस्तै, भोलि हुने राष्ट्रिय सभाको उपनिर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ। पार्टीमा एकता-समझदारीलाई वृद्धि गर्न तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय मंगलबारको बैठकले गरेको थियो।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो। कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता रहेका छन्। ओलीपक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र नेपालपक्षको नेतृत्व भीम रावलले गरेका छन्।

कार्यदलमा ओलीपक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्। यस्तै, नेपालपक्षबाट रावलसँगै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन्।