नेपाल निवास कोटेश्वर पुगे गृहमन्त्री थापा

Ram-bdr-thapa Badal
लोकपाटी न्यूज

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर राष्ट्रियसभा उपनिर्वाचनमा आफूलाई जिताउन आग्रह गरेका छन्। राष्ट्रियसभा उपनिर्वाचनको मिति नजिकिएका बेला थापा आफूलाई सहयोगका लागि अनुरोध गर्न नेपाल निवास कोटेश्वर पुगेका हुन्।

जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ। एमालेले गृहमन्त्री थापालाई बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा उम्मेदावार बनाएको छ। एमालेभित्रको विवादका कारण नेपाल पक्षसहित प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा (माओवादी केन्द्र)को गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। नेता नेपाल र अध्यक्ष ओलीबीच पार्टी एकताको विषयमा सहमति भएर कार्यदलसमेत बनिसकेपछि थापा उपचुनावमा सहयोग माग्न कोटेश्वर पुगेका हुन्।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार गृहमन्त्री थापा उपचुनावमा सहयोग र पार्टी एकताको विषयमा छलफल गर्न कोटेश्वर पुगेका हुन्। ‘बिहीबार हुने राष्ट्रियसभाको उपचुनावमा सहयोगको आग्रह गर्न र पार्टी एकताको विषयमा छलफल गर्न गृहमन्त्री वरिष्ठ नेता नेपाल निवास पुग्नु भएको हो,’ भट्टराईले भने।

एमालेले उपनिर्वाचन‍मा थापालाई मतदान गर्न ह्वीप जारी गरेको छ। सोमबार एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिँदै प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/ उप्रमुखका पत्र पठाएका हुन्।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क, रामबहादुर थापामगर भएको जानकारी गराइन्छ।’ पत्रमा भनिएको छ, ‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’

बागमती प्रदेश कमिटी बोधार्थ दिइएको पत्रमा कोरोना पिसिआर टेष्टको प्रमाण अनिवार्य लिएर आउन आग्रह गरिएको छ। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने बताएको छ। आयोगले निर्वाचनको दिन मतदान स्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधिभित्रको कोभिड १९ संक्रमण भए/नभएको पीसीआर रिपोर्ट ल्याउनु पर्ने अनिवार्य गरेको छ।